newskoseli.Com

३ दिनभित्र बहुमतको सरकार गठनका लागि राष्ट्रपतिले गरिन् आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीको फाइल तस्बिर

प्रधानमन्त्री खड्ग ओली पदमुक्त भएपछि बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी छन् । प्रधानमन्त्री ओली प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेपछि सोमबार अपराह्न पदमुक्त भएका हुन् । ओलीले विश्वासको मत लिन नसकेको कुरा संसद् सचिवालयले जानकारी गराएलगत्तै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) अनुसार तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान गरेकी हुन् ।

संविधानको धारा ७६ (२) मा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । प्रधानमन्त्री ओली विश्वासको मत पाउन असफल भएलगत्तै विपक्षी तीन दलका मुख्य नेताले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका थिए । सोमबारको मतदानमा २ सय ३२ सांसद सहभागी थिए । विश्वासको मत प्राप्त गर्नका लागि ओलीलाई १ सय ३६ मत आवश्यक पर्थ्यो ।

तर, ओलीले ९३ मत मात्रै पाएका थिए । ओलीको विपक्षमा १२४ मत परे भने १५ मत तटस्थ रहे । एमालेका २८ सांसद अनुपस्थित रहेर ओलीलाई मतदान गरेनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर