newskoseli.Com

गुल्मी अस्पतालमै अक्सिजन प्लान्ट र ५ बेडको आईसीयू

सरकारले गुल्मीमा अक्सिजन प्लान्ट स्थापनाका लागि १ करोड विनियोजन गरेको छ । जिल्ला अस्पताल तम्घासमा अक्सिजन प्लान्ट निर्माणका लागि अर्थ मन्त्रालयबाट १ करोड विनियोजन भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् ।

‘गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १ करोड़ रुपैयाँ विनियोजन गरिएको छ’– क्षेत्र– १ का सांसद समेत रहेका ज्ञवालीले भने । कोरोनाभाइरस संक्रमित बिरामीलाई अक्सिजनको अभाव भइरहेको व्यापक समाचार आउन थालेपछि जिल्ला अस्पतालमै अक्सिजन प्लान्ट स्थापना गर्न मन्त्री ज्ञवालीले पहल गरेका थिए ।

पाँच बेडको आईसीयू स्थापना

मन्त्री ज्ञवालीका अनुसार अस्पतालमा ५ बेडको आईसीयू स्थापनाका लागि थप रकमको प्रबन्ध गरिँदै छ । कोभिड– १९ का बिरामीको उपचारमा समस्या हुन नदिन र ठूलो खर्च व्यहोरेर अन्यत्र लैजानुपर्ने अवस्था आउन नदिनका लागि जिल्लामै आईसीयू स्थापना गर्न पहल गरिएको उनको भनाइ छ ।

जिल्लाका रुरु, श्रृंगा, जोहांग (खैरेनी) र धुर्काेट प्राथमिक स्वास्थ्य केन्द्रका लागि समेत आवश्यक स्वास्थ्य सामग्री पठाउने प्रबन्ध गरिने पनि मन्त्री ज्ञवालीले बताए । यस प्रक्रियामा महत्त्वपूर्ण सहयोग पुर्‍याउने अर्थमन्त्री र स्वास्थ्यमन्त्रीलगायत सबै सहयोगीहरूलाई उनले धन्यवाद दिएका छन् । कोरोनाभाइरसको महामारी सुरु भएपछि गतवर्ष पनि मन्त्री ज्ञवालीकै पहलमा गुल्मीमा निःशुल्क पीसीआर मेसिन उपलब्ध गराइएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर