newskoseli.Com

‘आशै नगर्नोस्, तपाईंलाई सघाउन सकिँदैन’ : बादललाई माधव नेपालको जवाफ

वरिष्ठ एमाले नेता माधवकुमार नेपालले राष्ट्रियसभाको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा नै आफ्नो उम्मेदवार रहेको प्रष्ट्याएका छन् । उपनिर्वाचनमा आफूलाई सहयोग गर्न अनुरोध गर्दै मंगलबार कोटेश्वरस्थित नेपाल निवास पुगेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई आफूले सहयोग गर्न नसक्ने जवाफ वरिष्ठ नेता नेपालले दिएका हुन् ।

डा. देवकोटालाई अरु राजनीतिक दलहरुसँग समेत सहयोगको अनुरोध गर्दै आफूले नै अघि सारेकाले अब बेइमानी गर्न नसक्ने प्रष्टोक्ति नेपालले बादललाई सुनाएको उनीनिकट एक स्थायी कमिटी सदस्यले बताए । ‘अब मैले तपाईंलाई सहयोग गर्छु भन्न मिल्दैन, तपाईं राजनीतिक मान्छे हो, बुझिहाल्नुहुन्छ,’ नेपाललाई उद्धृत गर्दै ती नेताले भने– ‘विश्वासभन्दा ठूलो केही हुँदैन, तपाईं अहिले मात्रै मत माग्न आउनुभयो तर मैले खिमलालजीलाई सुरूदेखि नै अघि सारेको हो, त्यसैले यसबारे तपाईंलाई वचन दिन सकिँदैन ।’

नेपालले सघाउन नसक्ने बताइसकेपछि बादलले भने मतदातालाई विवेकको मत प्रयोग गर्नबाट नरोकिदिनोस् भनेर नेपालसँग आग्रह गरे । बादलको सो प्रस्तावको जवाफमा नेपालले भने– ‘विवेक त मतदाता आफैंले प्रयोग गरिहाल्छन् नि, मैले भनेर हुने कुरा हो र विवेक भन्ने चिज !’

अर्का एक नेताले बताएअनुसार उपचुनावमा बादललाई सघाउन अध्यक्ष खड्ग ओलीले समेत वरिष्ठ नेता नेपाललाई भनेका थिए । ‘प्रधानमन्त्रीले समेत बादललाई सहयोग गर्न नेपाललाई भन्नुभएको थियो तर माधव कमरेडले यसबारे कुरै नउठाउनोस् भन्नुभयो,’ नेपालनिकट ती नेताले भने– ‘मैले खिमलाललाई असहयोग गरें भने मभन्दा रद्दी मान्छे कोही हुँदैन, यस्तो बेइमानी मबाट हुँदैन भनेर नेपालले ओलीलाई बाटै बन्द गरिदिनुभयो ।’

‘आज कमरेड रामबहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरूसहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो,’ वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले सामाजिक सञ्जालमा लेखेका छन्– ‘त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन । भ्रममा नपर्न सबैलाई अनुरोध छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर