newskoseli.Com

ओलीद्वारा आचारसंहिता उल्लंघन : कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

फाइल तस्बिरः केहीअघि निर्वाचन आयोगमै पुगेर कानुनविपरीत आयुक्तहरुलाई ‘निर्देशन’ दिँदै प्रधानमन्त्री खड्ग ओली ।

प्रधानमन्त्री खड्ग ओलीले राष्ट्रियसभा उपनिर्वाचनको पूर्वसन्ध्यामा जारी मौन अवधिबीच पार्टीको चुनावी प्रचारप्रसार गर्दै वक्तव्यबाजी गरेर निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गरेका छन् । बिहीबार बागमती प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्यको रिक्त पदको उपनिर्वाचनका लागि मौन अवधि सुरु भइसकेपछि आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने कार्य भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको निर्वाचन आयोगले जनाएको छ ।

बुधबार मात्रै प्रधानमन्त्री ओलीले आफ्नो समूहका तर्फका उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’ को पक्षमा मत माग्दै अपिल जारी गरेका थिए । मौन अवधिकै बेला उम्मेदवार स्वयंमकै समेत चर्को दौडधूप चलेको थियो ।

‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरुले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरुले उम्मेदवारको जित–हारको पूर्वानुमानका सामग्रीहरु प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरुको अन्तर्वार्ता लिनेजस्ता गतिविधिहरु गरेको देखिएकाले यसतर्फ आयोगको गम्भीर रुपमा ध्यानाकर्षण भएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यमलगायतले पालना गर्नुपर्ने आचारसंहिता समेत लागू भइसकेको सन्दर्भमा आचारसंहिता विपरीतका यस्ता क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयताप्रति नै आघात पार्ने कुरा स्पष्ट नै छ ।’

आचारसंहिता पालना नगर्नेलाई कारबाही गर्ने चेतावनी समेत आयोगले दिएको छ । एकातर्फ निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्न नसक्ने भनी आलोचना पनि गर्ने र अर्कोतर्फ आफैं आचारसंहिता विपरीतका गतिविधिमा संलग्न हुनु कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने भन्दै आयोगले सरकारी हर्कतप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

‘निर्वाचन आचारसंहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानुनबमोजिम कारबाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरा समेत जानकारी गराइन्छ’– विज्ञप्तिमा उल्लेख छ । बिहीबार सम्पन्न हुने बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको समेत आयोगले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर