newskoseli.Com

‘रहस्यमयी’ महन्थ : आफैं प्रधानमन्त्री बन्न अरुचि, ओलीको ‘रक्षक’ बन्नमै अभिरुचि !

नेपाली राजनीतिमा जे–जस्ता अप्रत्याशित, रहस्यमय र सन्देहयुक्त घटनाक्रमहरू चलिरहेका छन्, ठ्याक्कै त्यसैगरी यहाँका राजनीतिक खेलाडीहरूले पनि चरम सन्देहास्पद र रहस्यमय व्यवहार प्रकट गरिरहेका छन् । र, यतिबेला सबैभन्दा ठूलो विरोधाभाष र रहस्यको पात्र बन्न पुगेका छन् जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर ।

संवैधानिक या असंवैधानिक जेसुकै भए पनि फेरि एक पटक शुक्रबारको साँझसम्म सरकार परिवर्तन र मुलुकमा व्याप्त चरम राजनीतिक व्यभिचारबाट उन्मुक्तिको अवसर प्राप्त गरेका छन् नेपाली राजनीतिक खेलाडीहरूले । र, यो अवसरको केन्द्रमा रहेर ‘मौका छोप्ने’ सबैभन्दा ठूलो अवसर प्राप्त भएको छ उनै महन्थ ठाकुरलाई । तर, यति ठूलो अवसर प्राप्त हुँदा पनि स्वयं ठाकुरले भने अवसरलाई सदुपयोग गर्नुको सट्टा त्यसबाट पन्छिन र तर्किन अनेकौं प्रयास गरिरहेको देखिनु अचम्मलाग्दो मात्र होइन्र, घीनलाग्दो परिघटना भएको छ ।

वैकल्पिक सरकारको प्रधानमन्त्रीका रुपमा जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुरको नाम चर्चामा छ । सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले पनि ठाकुरलाई नै प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल माओवादी केन्द्र पनि ठाकुरलाई प्रधानमन्त्री बनाउने कुरामा सकारात्मक देखिएका छन् ।

तर, स्वयं ठाकुरले भने आफू प्रधानमन्त्री बन्न पटक्कै रुचि देखाएका छैनन् । शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ‘बाहिर चर्चा भए पनि आफूलाई त्यस्तो कुनै प्रस्ताव नआएको’ बताउँदै उनले भने– ‘म सुरुदेखि नै प्रस्ट छु कि परिस्थितिजन्य काममा मेरो कुनै इच्छा–आकांक्षा नै छैन ।’

दलहरुले त अबको प्रधानमन्त्रीका रुपमा तपाईँलाई नै अघि सार्ने कुरा गरेका छन् नि भन्ने सञ्चारर्मीको प्रश्नमा ठाकुरलले भने– ‘सम्भावनाहरु हुन्छन्, सपनाहरु पनि हुन्छन्, त्यो त्यत्ति हो ।’ तपाईंहरुका मागहरु सम्बोधन गर्न दलहरुले सहमति गरे पनि तपाईंको नेतृत्वमा सरकार बन्दैन र भन्ने सञ्चारकर्मीको अर्को प्रश्नमा ‘वर्तमान सरकारले नै आफ्ना मागहरु सम्बोधन गरिरहेको’ जवाफ दिए ।

ओली सरकारले नै नागरिकतासम्बन्धी अध्यादेश ल्याएको र संविधान संशोधनका लागि कार्यदल समेत बनाएको भन्दै ठाकुरले सुनाए– ‘अदालतमा विचाराधीन मुद्दाहरुमा पनि छलफल भइरहेको छ; जे हुन्छ, कानुन, विधि अनुसार नै हुन्छ ।’ उसोभए अबको निकास के त भन्ने सञ्चारकर्मीको जिज्ञासामा ‘साँझसम्म थाहा हुने’ उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर