newskoseli.Com

विभाजनतर्फ जसपा : ठाकुर र महतोसहित ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय

जनता समाजवादी पार्टी (जसपा) ले पार्टी, देश र जनताको हितविपरीत एवं स्वेच्छाचारी गतिविधि गरेको भन्दै दुईमध्येका एक अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सो पार्टीको शनिबार बसेको कार्यकारिणी समितिको बैठकले ठाकुर र महतोसहित नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुबाट चित्तबुझ्दो जवाफ नआए पार्टीको विधानअनुसार कारबाही गरिने निर्णय समेत बैठकले गरेको एक नेताले बताए ।

यादव पक्ष खड्ग ओली नेतृत्वको सरकारलाई विस्थापित गर्नुपर्ने पक्षमा उभिँदै आएको र ठाकुर–महतो पक्ष ओलीका हर कदमलाई साथ दिने गरी लागिपरेको सन्दर्भमा सोधिएको स्पष्टीकरण र कारबाहीको प्रसंगले सो पार्टी विभाजनको दिशातर्फ गएको आँकलन गरिएको छ ।

डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राईलगायतले नेतृत्व गरेको सो पार्टीको बहुमत पक्ष विद्या भण्डारी र खड्ग ओलीको मिलेमतोमा हुँदै आएका सबै प्रतिगामी एवं संविधानविरोधी हर्कतहरुको विपक्षमा क्रियाशील छ । उता, ठाकुर–महतो पक्ष भने ओली–भण्डारीले निरन्तर लाददै आएका सबैखाले प्रतिगमनहरुको रक्षाकवच बन्दै आएको छ ।

जेठ ४ मा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आपसी सहमति कायम गर्दै संयुक्त विज्ञप्ति समेत निकालेर जेठ ८ र ९ मा बस्ने गरी कार्यकारिणी समितिको बैठक बोलाएका थिए । तर, अध्यक्ष ठाकुरले शुक्रबार अकस्मात विज्ञप्ति जारी गरेर कोरोनाको कारण देखाउँदै बैठक स्थगित भएको एकपक्षीय सूचना गरेका थिए । त्यसलगत्तै अध्यक्ष यादवले अर्को विज्ञप्ति जारी गरेर बैठक स्थगित नभएको भन्दै निर्धारित मिति तथा समयमा नै हुने बताएका थिए ।

राजधानीको सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जसपाको बैठक बसेको हो । सो बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर र उनी पक्षका कार्यकारिणी सदस्यहरु सहभागी भएनन् । शनिबारको बैठकमा ५१ सदस्यीय कार्यकारिणी समितिका ३१ जना सहभागी भएको एक नेताले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर