newskoseli.Com

८ मन्त्रालयसहित सरकारमा जाँदै ठाकुर–महतो समूह : कुन–कुन मन्त्रालयमा दावी, को–को चर्चामा ?

जनता समाजावादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो समूह सरकारमा सहभागी हुने अन्तिम गृहकार्यमा जुटेको छ । मन्त्रालयको भागबन्डा र दलभित्रको समीकरण मिलाउँदै पार्टी फुटाएर भए पनि ठाकुर–महतो समूह यसै साता सरकारमा सहभागी हुँदै छ ।

सरकारमा सहभागिताका निम्ति प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओली र नेता सुवास नेम्बाङलगायतसँग ठाकुर–महतोले संवाद तीव्र पारेका छन् । यी दुई पक्षबीच सोमबार पनि छलफल र परामर्श भएको छ । संघीय परिषदका अध्यक्ष एवं केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवलगायत जसपाको बहुमत पक्ष भने सरकारमा सहभागी हुने कुराको तीव्र विपक्षमा छन् । सरकारमा सहभागी भए ती नेताहरुलाई पार्टीबाटै निष्काशन गरिदिने चेतावनी उक्त पक्षले दिइसकेको छ ।

बालुवाटारमा सोमबार भएको वार्तामा ८ मन्त्री र २ राज्य मन्त्री सरकारमा जानेबारे सहमति जुटेको जसपाका एक नेताले न्युजकोसेलीलाई बताए । ती नेताका अनुसार संसदीय दलका नेता भनिएका राजेन्द्र महतो या शरतसिंह भण्डारीमध्ये कसको नेतृत्वमा सरकारमा जाने भन्नेबारे जसपाले टुंगो लागाउन बाँकी नै छ । ‘संसदीय दलको नेता समेत भएकाले महतोजी नै अगाडि हुनुहुन्छ’– ती नेताले भने ।

जसपाले गृहसहितका ‘मालदार’ मन्त्रालयमा दाबी गरिरहेको छ । ‘कूटनीतिक तरिकाले’ बादललाई हराएर गृह मन्त्रालयमा आफू जान प्रयास गरिरहेका विनाविभागीय उपप्रधानमन्त्री ईश्वर पोखरेलका कारण गृह मन्त्रालय जसपाले नपाउने पक्कापक्की भएको बताइन्छ । यही कुरा बुझेर गृह मन्त्रालयबाहेक अरु ‘शक्तिशाली’ मन्त्रालयमा सहमति गरेरै भए पनि सरकारमा जाने तयारी भइरहेको ती नेताको भनाइ छ ।

मंगलबार नै ठाकुर–महतो समूह सरकारमा जाने र मन्त्रिपरिषद् विस्तार हुने अर्का एक नेताले बताए । राजेन्द्र महतो, शरतसिंह भण्डारी, राजकिशोर यादव, विमल श्रीवास्तव, एकवाल मियाँ, रामबाबु यादव, उमाशंकर अरगरिया, चन्दा चौधरीलागायतका नेता उक्त समूहबाट मन्त्री बन्ने चर्चामा छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर