newskoseli.Com

कांग्रेसका पोखरेल मुख्यमन्त्री नियुक्त : प्रदेश–प्रदेशबाट बढारिँदै ओली समूह

बिहीबार प्रदेशसभामा भएको मतविभाजनबाट गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ अल्पमतमा परी अपदस्थ भएको तेस्रो दिन शनिबार अपराह्न नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । पोखरेलको नियुक्तिसँगै नेपालका सातमध्ये चारवटा प्रदेश सरकारबाट एमालेको खड्ग ओली समूह बढारिन पुगेको छ ।

एमालेभित्रको चरम अनुदार, प्रतिकान्तिकारी, अराजक एवं मुढाग्रही समूहका रूपमा बदनाम ओली समूहका आधा दर्जनजति शीर्ष हर्ताकर्तामध्येका एक पूर्वमुख्यमन्त्री गुरूङ र राष्ट्रपति विद्या भण्डारीकै जसरी निर्लज्जतापूर्ण हर्कत गराउन ओली समूहद्वारा केही अघि मात्र त्यहाँ ‘खटाइएकी’ प्रदेश प्रमुख सीताकुमारी पौडेलले अन्तिम घडीसम्म पनि पोखरेललाई मुख्यमन्त्री बन्न नदिएर प्रदेशसभा विघटन गराउने प्रयत्न गरिरहेका थिए । संघीय सरकारमा ओलीको पतनसँगै विद्या–ओलीले देखाएको निर्लज्जता गण्डकी प्रदेशमा समेत देखाउन पौडेल–गुरूङले भरमग्दुर प्रयास गरे । ओलीकै शैलीमा एमाले प्रदेश संसदीय दलका नेता एवं प्रदेशको कामचलाउ सरकारका मुख्यमन्त्री गुरुङले नक्कली दाबी पेस गरेर जनता समाजवादी पार्टी (जसपा) को प्रदेश कमिटी पार्टीको कारबाहीमा परेर प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका पूर्वसांसद् कृष्ण थापाको समर्थन रहेको ‘फेक’ कागजात समेत प्रदेश प्रमुख पौडेलकहाँ बुझाएका थिए ।

विपक्षी गठबन्धनका तर्फबाट पोखरेलले संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार नै ३१ जना प्रदेशसभा सदस्यको सशरीर उपस्थितिसहित दाबी पेस गरेका थिए । ३१ जना प्रदेशसभा सदस्यहरुले शुक्रबारै प्रदेश प्रमुखकै सामु उपस्थित भएर हस्ताक्षर समेत गरेका थिए । स्पष्ट बहुमत प्रदेशसभा सदस्यहरू सशरीर उपस्थित भएर दावी गरेपछि शुक्रबार नै नयाँ मुख्यमन्त्री नियुक्त हुनुपर्ने अवस्था थियो र विपक्षी गठबन्धनले पनि त्यही चाहेको थियो । तर, प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार दिउँसो ३ बजेसम्म समय रहेकाले त्यसपछि मात्रै ‘निर्णय लिने’ बताइन् ।

प्रदेश प्रमुख पौडेलले सन्देहास्पद व्यवहार देखाउने र एमाले संसदीय दलका नेता एवं कामचलाउ मुख्यमन्त्री गुरुङले नक्कली दाबी पेस गर्ने काम गरेपछि विपक्षी गठबन्धनका प्रदेशसभा सदस्यहरुले त्यसप्रति आपत्ति जनाउँदै शनिबार दिनभरजसो प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिए । अन्ततः जुनसुकै चालबाजी गरे पनि कहीं–कतैबाट विद्या–ओलीको हर्कत दोहोर्याउन नसक्ने स्थिति बनेपछि पौडेलले बाध्य भएर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।

माओवादी केन्द्रका तर्फबाट प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने षड्यन्त्र गर्दा सबभन्दा पहिले ओली समूह कर्णाली प्रदेश सरकारबाट बढारिन पुगेको थियो । त्यसपछि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हटाउने षड्यन्त्रमा लागेपछि ओली समूह त्यहाँको प्रदेश सरकारबाट पनि बढारियो । प्रदेश– २ मा सरकार चलाइरहेको जसपा फुटाएर केही ‘मधेशवादी’ नेतालाई ओली समूहले संघीय कामचलाउ सरकारमा भित्र्याएपछि उपेन्द्र महतो नेतृत्वको बहुमत पक्षले महन्थ ठाकुर–राजेन्द्र महतो समूहका प्रदेशमन्त्रीहरूलाई हटाइदिइसकेको छ । अब गण्डकी प्रदेशबाट समेत ओली समूह बढारिन पुगेको छ ।

पाँचदलीय विपक्षी गठबन्धन बाँकी तीनवटा प्रदेश सरकारहरूबाट समेत ओली समूहलाई बढार्ने गृहकार्यमा जुटेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल यसअघि नै अल्पमतमा परेर ओलीकै जस्तो जोरजबर्जस्ती गरेर सत्तामा टाँसिइरहेका छन् । अब विपक्षीको ध्यान सोही प्रदेशमा केन्द्रित हुने भएको छ । त्यसपछि प्रदेश– १ को शेरधन राई सरकार र बागमती प्रदेशको डोरमणि पौडेल सरकार गिराउन पाँचदलीय गठबन्धन योजनाबद्धरूपले लागिसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर