
महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) दर्ताका लागि ‘मधेशवादी’ नेता हरिनारायण यादवले निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद समाधान नहुने निश्चित भएर विभाजनको प्रक्रिया अघि बढिरहेका बेला धनुषानिवासी हरिनारायणले आफ्नै अध्यक्षतामा राजपा दर्ताका लागि निवेदन दिएका छन् ।
जसपाको आधिकारिकता उपेन्द्र यादवले पाउने निश्चितप्रायः देखिएपछि महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले अरु कसैको नामबाट राजपा नेपाल दर्ता गराउने तयारी गरिरहेको थियो । त्यही कामका लागि उनीहरूले कागजात जुटाइरहेकै बेला अर्कै व्यक्तिले जसपा दर्ताको निवेदन दिइहाले ।
ठाकुर–महतो पक्ष प्रतिगमनकारी खड्ग ओलीको ‘खेताला’ बनिरहेका बेला सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र उनी पक्षधरहरूले भने चौतर्फीरूपमा राजनीतिक श्रेष्ठता सावित गरे । ठाकुर गुटलाई जसपाबाट गलहत्याउने र उनको पूर्वपार्टी राजपा समेतबाट वञ्चित गराइदिने यादव पक्षको प्रयासस्वरूप अध्यक्ष उपेन्द्र यादवले नै हरिनारायणको नामबाट राजपा नेपाल दर्ता गर्न लगाएको जसपा स्रोतले दाबी गरेको छ ।
समाजवादी पार्टी र राजपा एकीकृत भएर जसपा बनेको थियो । निर्वाचन आयोगमा २४ असार, २०७७ मा जसपा दर्ता भएको थियो । पार्टी एकीकरणको एक वर्षसम्म कसैले पनि पुराना दलको नाममा पार्टी दर्ता गराउन नपाउने प्रावधान छ । शुक्रबार मात्रै एक वर्ष पूरा भएकामा उपेन्द्र यादवले तत्कालै हरिनारायण यादव अध्यक्ष रहने गरी राजपा दर्ताको प्रक्रिया अघि बढाइदिए ।
यद्यपि हरिनारायण यादवले भने उपेन्द्र यादवले अह्राएर आफूले राजपा दर्ता नगराएको बताउँदै भने– ‘कसैले भनेर मैले पार्टी दर्ता गराएको होइन, केही साथी मिलेर मधेशमा नयाँ ढंगको राजनीतिक विकास गर्न यो पार्टी दर्ता गराएको हुँ ।’