newskoseli.Com

चन्द माओवादीको बन्दमा दर्जनौं गाडी तोडफोड

सरकारले आफ्ना कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले शुक्रबार गरेको मेची, पश्चिम ताम्सालिङ (चितवन, धादिङ, नुवाकोट, रसुवा) र कर्णाली ब्युरोअन्तर्गतका जिल्ला बन्दका क्रममा ती क्षेत्रको जनजीवन गम्भीर रुपले प्रभावित भएका खबरहरु प्राप्त भएका छन् ।

माओवादी तनहुँका सेक्रेटरी निरु थापालाई प्रहरीले पोखराको लेकसाइडबाट नियन्त्रणमा लिएको छ । चन्द माओवादीका केन्द्रीय नेता एटमले न्युजकोसेलीलाई दिएको जानकारी अनुसार कर्णाली क्षेत्रमा बन्दको व्यापक प्रभाव परेको छ । स्थानीयवासी, उद्योगी–व्यापारी, बुद्धिजीवी सबैले बिहानैदेखि सहयोगी भूमिका निर्वाह गरेको उल्लेख गर्दै नेता एटमले त्यस क्षेत्रमा कुनै पनि हिंसात्मक स्थिति र झडपहरु नभई बन्द शान्तिपूर्ण ढंगले सफल भएको बताए ।

माओवादीकी स्थानीय नेतृ सविता तामाङले न्युजकोसेलीलाई दिएको जानकारी अनुसार बन्दका क्रममा चितवनमा २५ भन्दा बढीसवारीसाधन तोडफोडमा परेका छन् ।

त्यसैगरी रसुवामा ५ वटा कन्टेनरमाथि आगजनी भएको छ । धादिङमा ७ वटा गाडी क्षतिग्रस्त हुनुका साथै नुवाकोटमा पनि बन्दको व्यापक प्रभाव परेको र त्यहाँ ५ वटा सवारी साधन तोडफोडमा परेको तामाङले बताइन् ।

बन्दका क्रममा धादिङमा १ आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि बन्दी बनाइएका नेता–कार्यकर्ताको विनासर्त रिहाई गर्न माग गर्दै आयोजित शुक्रबारको बन्दका क्रममा समेत देशभरबाट दर्जनबढी माओवादी कार्यकर्ता पक्राउ परेको माओवादी स्रोतले बतायो ।

शुक्रबारको बन्द सफल हुँदा पनि राजनीतिक आस्थाका आधारमा बन्दी बनाइएका सबैलाई तत्काल रिहाई नगरिए २७ गतेका निम्ति घोषित नेपाल बन्दलाई प्रभावकारी ढंगले सम्पन्न गर्नुको विकल्प आफूहरुसँग नभएको चन्द माओवादीका अर्का केन्द्रीय नेताले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर