एमाले अध्यक्ष एवं अपदस्थ प्रधानमन्त्री खड्ग ओली नेतृत्वको समूह वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पूर्णतः बेवास्ता गरेर अघि बढेको छ । ओलीको यो बेवास्तासँगै अब आगामी कदम र रणनीति तय गर्न खनाल–नेपाल पक्षलाई समेत बाटो खुलेको छ ।
शुक्रबार बोलाइएको संसदीय दल र स्थायी कमिटीको बैठक स्थगित गरी केही दिनअघि एकता कार्यदलबीच भएको दसबुँदे सहमतिका आधारमा अघि बढ्न स्थायी कमिटीको बैठकमै पुगेर कार्यदलमा रहेका खनाल–नेपाल पक्षीय नेताहरूले आग्रह गरे । तर, उनीहरूको आग्रहलाई ओली र उनको समूहले ठाडै अस्वीकार गरेपछि कार्यदलमा रहेका खनाल–नेपाल पक्षीय स्थायी कमिटीका सदस्यहरु आक्रोशित हुँदै बैठक छाडेर फर्किए ।
खनाल–नेपाल पक्षीय नेताहरु हिँडेपछि ओली समूहले एकलौटी रुपमै स्थायी कमिटीको बैठक अघि बढायो । सोही बैठकले एकता कार्यदल समेत विघटन गरिदिएको छ । कार्यदलले बुझाएको १० बुँदे प्रस्तावलाई भने स्थायी कमिटीको बैठकले अनुमोदन गरेको जानकारी प्रवक्ता प्रदीप ज्ञवालीले दिएका छन् ।
ओली समूहको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारको विपक्षमा उभिन र विश्वासकाे मत नदिन आफ्ना सांसदहरुलाई निर्देशन समेत दिएको छ । अध्यक्ष ओली नेतृत्वको सरकारले ‘ऐतिहासिक काम गरेको’ भन्दै बैठकले धन्यवाद पनि व्यक्त गरेको बताइएको छ ।