newskoseli.Com

‘कुलमान घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गर्नू’ : ऊर्जामन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्कालै सोही पदमा नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री भुसाललाई त्यस्तो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । अत्यासलाग्दो लोडसेडिङको मार खेपिरहेका नेपालीलाई पत्याउनै मुस्किल पर्ने ढंगबाट छोटो अवधिमै लोडसेडिङमुक्त गराएर ‘उज्यालो नेपालका नायक’ को उपमा पाएका घिसिङको एक कार्यकाल सकिने वित्तिकै तत्कालीन प्रधानमन्त्री खड्ग ओलीको हस्तक्षेपपूर्ण निर्देशनमा अर्को कार्यकाल सेवा गर्ने अवसर नदिई पदमुक्त गराइएको थियो ।

नेपाली जनता, विज्ञ, सचेत नागरिक, राजनीतिकजगत् र प्रायः सबै तह–तप्काको दबावका बावजुद ओलीले कुलमानलाई अर्को कार्यकाल सेवा गर्ने अवसरबाट वञ्चित गराएका थिए । ओलीकै सालो नाता पर्ने भनिएका अहिलेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य नियुक्त भएयता नेपालमा फेरि पनि अघोषितरूपमा लोडसेडिङ दोहोरिएको छ । निकै ठूलो घाटा र ऋणबाट उक्सेर करोडौं नाफामा गइसकेको प्राधिकरणको आम्दानी ह्वात्तै घटेको छ र विद्युत् चुहावट दर पनि निकै बढेको छ ।

मुलुकको एक मात्र आशालाग्दो संस्थानका रूपमा उकालो लागिरहेको विद्युत प्राधिकरण फेरि छोटो अवधिमै नराम्ररी ओरालो लाग्न थालेका बेला घिसिङलाई नियुक्त गर्न देउवाले दिएको निर्देशनलाई ओलीले गरेको प्रतिगमन र जनता एवं राष्ट्रविरूद्धको अपराध सच्याउने पहिलो पाइलाका रूपमा सर्वत्र स्वागत गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर