newskoseli.Com

खनाल–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक : एमाले विवाद वारपारतिर !

नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले बोलाएको केन्द्रीय सदस्यहरूको बैठक बिहीबार राजधानीमा बस्दै छ । ११ बजेदेखि सुरू हुने सो बैठकले एमाले विभाजित हुने या एकताबद्ध भएर अघि बढ्ने भन्नेमा अन्तिम टुंगो लगाउने बताइएको छ ।

हालसम्मका गतिविधिको आधारमा एमाले अब एकताबद्ध हुनेतिरको प्रयास उत्साहजनक नरहेको नेपाल पक्षीय प्रायः नेताहरूको भनाइ छ । ओली पक्षले बुधबार साँझ विज्ञप्ति जारी गरेर नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरूलाई अपिल गरेको छ । खनाल–नेपाल पक्षले बोलाएको बैठक नेपालको संविधान, कानुन र पार्टीको विधानविपरीत भएको समेत ओली समूहका कार्यालय सचिव शेरबहादुर तामाङद्वारा जारी सो विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पक्षीय केन्द्रीय सदस्य गंगालाल तुलाधरले जनाए अनुसार बिहीबारको बैठकमा समसामयिक राजनीतिक अवस्था र पार्टी एकताका सन्दर्भमा छलफल हुने छ । एमालेभित्रको लामो समयदेखिको अन्योल अबको केही घन्टामा नै समाप्त हुने अर्का एक नेताको भनाइ छ ।

केन्द्रीय कमिटीको बैठक बस्नुअघि बिहीबार नै खनाल–नेपाल पक्षीय स्थायी कमिटीको बैठक बस्ने र सोही बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेन्डा निर्धारण गर्ने तयारी छ । प्रतिनिधिसभाको दोस्रो पटक पुनर्स्थापना भई नयाँ सरकार बनेपछि खनाल–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो । पार्टी फुटाएर हिँड्नका निम्ति केन्द्रीय कमिटीबाट म्यान्डेट लिन माधव समूहले बैठक बोलाएको आरोप ओली समूहले लगाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर