newskoseli.Com

एमाले विभाजनको चर्चाबीच झलनाथ भेट्न पाण्डे र आचार्य किन हान्निए दिल्ली ?

एमाले विभाजनको अन्तिम तयारी चलिरहेको बताइँदैछ । अध्यक्ष खड्ग ओलीले सबै विकल्प र एकताका सबै बाटा बन्द गरिदिएकाले अब ‘टाडमुनि छिरेर’ एकता सम्भव नहुने खनाल–नेपाल पक्षको अभिव्यक्ति निरन्तर आइरहेका बेला ‘एकताको कसरत’ मा भिडिरहेका खनाल–नेपाल पक्षका नेताद्वय भीम आचार्य र सुरेन्द्र पाण्डे दिल्लीमा उपचाररत वरिष्ठ नेता झलनाथ खनाल भेट्न शनिबार एक्कासि दिल्ली पुगेका छन् ।

खनाल–नेपाल पक्षभित्र पनि विगतदेखि खनाल निकट भनिएका भीम आचार्य र नेपाल निकट कट्टर नेता भनिएका सुरेन्द्र पाण्डे पछिल्लो समय माधव नेपाललाई नै ‘बाइपास’ गरेरै भए पनि एमालेको एकता जोगाउने पक्षमा क्रियाशील रहेको एमाले नेताहरूको भनाइ छ । ओली समूहको पछिल्लो स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकले वडादेखि केन्द्रसम्मका अधिवेशन र महाधिवेशनको कार्ययोजना अघि सार्ने, सदस्यता नवीकरणको योजना बनाउने र विधान संशोधन प्रस्ताव समेत पारित गर्ने काम गरेपछि अब विभाजन अपरिहार्य भएको निष्कर्ष नेपाल पक्षले निकालिसकेको स्रोतको भनाइ छ ।

ओली पक्षले ‘नेपालविना एकता’ को प्रयास गरिरहेको र नेपाल पक्षले पनि ‘ओलीको नेतृत्व बाहेकको पार्टी’ का निम्ति संघर्ष गरिरहेको वर्तमान अवस्था हेर्दा अब एमाले विभाजनको विकल्प देखिँदैन । दोस्रो तहका नेताहरूले १० बुँदे सहमति गरेको निकै समय बितिसक्दा समेत ओली–नेपाल दुवैले उक्त सहमतिको मर्मअनुकूल व्यवहार गर्ने सम्भावना नदेखिएको र माधव नेपाल वा उनको पक्षसँग थप सहमति गर्ने पक्षमा ओली समूह नरहेको अवस्थाले पनि एमाले विभाजन सन्निकट आइसकेको बुझिन्छ ।

ओली समूह आफैंले अघि सारेको ‘दोस्रो अध्यक्ष’ को प्रस्तावबाट पछि हटिसकेको र माधव नेपालले बारम्बार ‘ओली सुध्रने सम्भावना नरहेको’ र ‘लुत्रुक्क परेर टाङमुनि छिर्न तयार नहुने’ अभिव्यक्ति दिइरहेकाले पनि अब एकताको सम्भावना सकिएको स्पष्ट हुन्छ । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको महिनादिन नाघिसक्दा समेत मन्त्रिमण्डल विस्तार नभएको र ओली समूहले तोकेको एमालेको ‘विधान अधिवेशन’ को मिति नजिकिइसकेको सन्दर्भ हेर्दा एमालेको विभाजन अब धेरै पर जाने अवस्था देखिँदैन ।

ठीक यही सन्दर्भमा ‘जसरी पनि एकता जोगाउनुपर्ने’ भन्दै आएका भीम आचार्य र सुरेन्द्र पाण्डे वरिष्ठ नेता खनाललाई भेट्न एकाएक दिल्ली जानुलाई अर्थपूर्णरूपमा हेरिएको छ । तत्काल एमाले विभाजनको पक्षमा नउभिन र सोअनुरूपको अभिव्यक्ति नदिन खनाललाई मनाउने प्रयासका निम्ति ओलीसँगको सल्लाहमै आचार्य र पाण्डे दिल्ली हानिएको कतिपयको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर