newskoseli.Com

बल्ल टुंगियो सत्ता भागबण्डा : शुक्रबार सरकारको पूर्णता र मन्त्रीहरूको सपथ (सूचीसहित)

सत्तारुढ गठबन्धन आबद्ध चार दलबीच मन्त्रालय र शक्ति बाँडफाँटका विभिन्न पक्षमा वृहत् सहमति जुटेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बिहीबार अबेरसम्म चलेको संयुक्त बैठकले मन्त्रालय भागबण्डासहित शक्ति बाँडफाँटको टुंगो लगाएको हो ।

पछिल्लो सहमतिअनुसार शुक्रबार (२२ असोजमा) देउवा सरकारले पूर्णता पाउने भएको छ । शुक्रबारै मन्त्रिपरिषद् विस्तार र मन्त्रीहरुको सपथ हुने जानकारी सत्तारुढ गठबन्धनका नेताहरुले दिएका छन् । चार दलका शीर्ष नेताहरुले मंगलबारै मन्त्रालयको संख्यात्मक भागबण्डा टुंग्याका थिए । कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री तथा जसपाले चार मन्त्री लिने सहमति मंगलबार सार्वजनिक भएको थियो ।

शीर्ष तहमा एक हिसाबले सहमति जुटे तापनि आफ्नो पार्टीले ‘पावर मिनिस्ट्री’ नपाएको भन्दै एकीकृत समाजवादीका नेताहरुले प्रारम्भिक सहमतिप्रति असन्तुष्टि जनाए । एकीकृत समाजवादीभित्र पैदा भएको असन्तुष्टीका कारण बिहीबारै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी असफल भयो ।

त्यसपछि बिहीबार चार दलका शीर्ष नेताहरुबीच फेरि छलफल भयो । त्यसपछि भने मन्त्रालय भागवण्डाले अन्तिम रूप लियो । अन्तिम सहमतिअनुसार एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या; सहरी विकास; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ । शुक्रबार दिउँसो ११ बजे स्थायी कमिटीको बैठक बसेर मन्त्रीहरुको नाम टुंगो लगाइने जानकारी एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले दिएका छन् ।

अब कांग्रेसले रक्षा; सञ्चार तथा सूचना प्रविधि; उद्योग, वाणिज्य तथा आपूर्ति; युवा तथा खेलकुद र महिला, बालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नेतृत्व गर्ने भएको छ । कांग्रेसले यसअघि नै गृह, र कानुन, न्याय तथा संसदीय मामिला र परराष्ट्र मन्त्रालयको नेतृत्व सम्हालिसकेको छ ।

देउवा सरकार गठन भएसँगै अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको नेतृत्व गर्दै आएको माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी तथा सरसफाई गरी थप तीन मन्त्रालयको नेतृत्व गर्ने भएको छ । माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री तथा बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय स्थायी कमिटीको बैठकबाट बुधबार नै गरिसकेको छ । कसले कुन मन्त्रालय चलाउनने भन्नेबारे भने शुक्रबार नै टुंगो लाग्ने भएको छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात; संघीय मामिला तथा सामान्य प्रशासन; वन तथा वातावरण र कृषि तथा पशुपक्षी गरी चार मन्त्रालयको नेतृत्व गर्ने भएको छ । सत्तारुढ दलहरुले शुक्रबारै मन्त्रीहरुको नाम पठाएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेर साँझसम्म शपथग्रहण गराइसक्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

गठबन्धनका चार दलबीच समग्र शक्ति बाँडफाँटमा समेत सहमति जुटेको छ । अब जनता समाजवादी पार्टी (जसपा) ले संघीय प्रतिनिधिसभाको उपसभामुख पाउने भएको छ भने नेकपा (एकीकृत समाजवादी) ले बागमती र प्रदेश– १ को मुख्यमन्त्री पाउने भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर