newskoseli.Com

दुईतिहाइबाट सडकमा : ओलीको अहमले गुमाएको ऐतिहासिक अवसर

एमाले अध्यक्ष खड्ग ओलीको अहम्, अस्वाभाविक उत्ताउलोपन, ढोंगी चरित्र र उच्च नेतृत्वमा रहेर जो–कसैले गर्न सक्नेभन्दा अद्वितीय हिसाबमै बढ्ता ढाँटछल र छलकपटको फलस्वरूप नेपालको ‘वाम’ नामधारी पक्षले इतिहासकै दुर्लभ एवं ऐतिहासिक अवसर गुमाएको छ । वस्तुतः एमालेले सो पार्टी र स्वयं ओलीले जीवनकै सर्वाधिक ठूलो अवसर गुमाउन पुगेका छन् ।

मुलुकका सातमध्ये चार प्रदेश सरकार र केन्द्र (संघ) मा दुईतिहाइ बहुमतसहितको सरकारबाट बलात् अपदस्थ भएर ओली र एमाले अन्ततः नराम्ररी सडकमा पछारिएर धुलो चाट्ने अवस्थामा पुगेका छन् । माओवादी केन्द्रसहित संसदीय प्रणालीमा अभ्यासरत सबै ‘वाम’ शक्तिको साथ, सहयोग र समर्थनमा सिंगो एमालेले पछिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत इतिहासकै दुर्लभ अवसर प्राप्त गरेको थियो । तर, ओली र उनको असाध्यै साँघुरो समूहको चरम अयोग्यता, घोर अवसरवाद र भ्रष्ट चरित्र अनि विष्मयकारी अराजक हर्कतहरूका कारण ‘वाम’ खेमाका अरूहरूलाई समेत आगामी दिनहरू कष्टकर बन्न पुगेका छन् । झन् ओली र उनको समूह अर्थात् विभाजित एमालेका आगामी दिनहरूको दुरूहपनको त कुरै नगरौं !

ओली–अराजकता र कुशासनको परिणामस्वरूप सबभन्दा पहिले सो समूहका नेता पृथ्वीसुब्बा गुरूङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढल्यो । त्यसपछि ओली स्वयं बालुवाटारबाट पछारिएर ‘बालकोटको बार्दली’ मा पुगे । त्यसलगत्तै ओली समूहका अर्का ‘हस्ती’ भनिएका शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्यो । बाँकी बागमती प्रदेश र प्रदेश– १ बाट पनि बढारिने स्थितिमा पुगिसकेपछि तै थाम्न सकिन्छ कि भन्ने दुराशयका साथ सकुनी शैलीमा ओली समूहका डोरमणि पौडेल र शेरधन राईलाई राताराट हटाइयो । र, उनीहरूका ठाउँमा झलनाथ खनाल–माधवकुमार नेपाल नेतृत्वको ‘विद्रोही’ एमाले खेमामा क्रियाशील रहँदै आएका अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई मुख्यमन्त्री बनाइयो ।

एमालेको इमानदार तप्का र स्थापित नेताहरूले पार्टी एकता जोगाउन अन्तिम हदसम्म गरेको प्रयासलाई ओलीले बारम्बार ‘धोती’ लगाइरहे । ओली उद्दण्डताका कारणा अन्ततः एमाले फुटिछाड्यो । परिणामतः बाँकी ती दुई प्रदेशबाट समेत पछारिँदै एमाले सडकमा पछारिएर धुलो चाट्ने अवस्थामा पुग्यो । आफैंले लामो समयदेखि प्रवर्द्धन गर्दै आएको खनाल–नेपाल पक्षलाई ‘धोका’ दिएर मुख्यमन्त्री पदको लोभमा ओलीसामु ‘आत्मसमर्पण’ गर्न पुगेकी अष्टलक्ष्मी शाक्य बुधबार सत्ताच्युत भइन् । उनको स्थानमा खनाल–नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा बिहीबार बागमती प्रदेश सरकार गठन भइसकेकाे छ ।

मुख्यमन्त्री पदकै लोभमा फसेर अष्टलक्ष्मीकै बाटो अँगालेका प्रदेश– १ का मुख्यमन्त्री भीम आचार्य पनि आगामी साताको सुरूमै सत्ताच्युत हुने सुनिश्चित भइसकेको छ । यसरी ‘चटके’ शैलीका ओली आफू त दुईतिहाइबाट सडकमा पुगे–पुगे; सिंगै एमालेलाई सडकमा पछारिदिए । यत्रो अवसर र इतिहासको संयोगलाई सम्हाल्न नसकेका र भयंकर दुरूपयोग गरेका खड्ग ओली अब अर्को चुनावबाट आफू फेरि सिंहदरबार पस्ने ‘जोक’ गर्दै दुनियाँ हँसाउन व्यस्त छन् ।

ओली अझै यस्तो भ्रम बाँडिरहेका छन् कि पूरै नेपाल उनको बिर्ता हो र सम्पूर्ण नेपाली मतदाता उनका रैती हुन् । अर्को चुनावमार्फत रछ्यानमा नमिल्किएसम्म ओलीका उटपट्याङ सुनिरहन नेपाली नागरिक अभिशप्त छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर