newskoseli.Com

माओ दिवस : यथार्थता र सान्दर्भिकता

नेपालमा माओ दिवसलाई विशेष महत्त्व दिइन्छ । कयौंले चीन नेपालबाट नजिकै भएका कारण कम्युनिस्टहरूमा त्यसको प्रभाव परेको मात्र हो भनेजसरी पनि अर्थ्याउँछन् तर वास्तविकता त्यस्तो होइन ।

माओले विश्व साम्राज्यवाद–पुँजीवाद एवं संशोधनवादका विरुद्ध र वैज्ञानिक समाजवाद–साम्यवादका पक्षमा जुन स्तर र मात्रामा लड्नुभयो, त्यो क्रान्तिकारी कम्युनिस्ट नेताहरूले लडेको सबैभन्दा ठूलो लडाइँ थियो, जुन लडाइँले विश्वभरिका कम्युनिस्टहरूलाई निकै ठूलो प्रेरणा, शक्ति र उत्साह पैदा गरिरहेको छ । आजको नेपाली सन्दर्भमा यसले झनै मेल खाइरहेको छ ।

विश्व राजनीतिमा प्रायः सत्ता, कुर्सी, पद र अवसरलाई केन्द्रमा राखेर काम गरिन्छ । आजको विश्व र नेपालमा त यसको बिगबिगी नै छ । जो सरकार र कुर्सीमा पुग्छ, उही ठीक; जसले फाइदा सोहोर्न सक्छ, उही सक्षम; जसले स्वार्थको घैंटो भर्न सक्छ, उही योग्य भनेजसरी व्याख्या–विश्लेषण गरिन्छ ।

तर, माओले कहिल्यै पनि त्यसरी सोच्नुभएन । उहाँले राजनीतिक सङ्घर्ष र कार्यलाई सधैं श्रमिक जनताको हित, देशको स्वाधिनता र कम्युनिस्ट आदर्शसँग जोडेर सञ्चालन गर्नुभयो । उहाँले कहिल्यै पनि आफ्नो गुट, परिवार र निजी फाइदाका लागि सोच्नुभएन । हरेक सोचाइ, नीति र कामहरूलाई बहुसङ्ख्यक श्रमिक जनताको हित र सुख–दुःखसँग जोडेर निर्माण गर्नुभयो, जुन सोचाइ र शैलीले विश्वभरिका श्रमिक वर्ग र क्रान्तिकारीहरूलाई निरन्तर प्रेरित गरिरहेको छ ।

माओले जहिल्यै पनि श्रमिक वर्ग, जनता, देश र अन्तर्राष्ट्रिय भावनालाई पक्डेर नीति र निर्णयहरू गर्नुभयो । श्रमिकवर्ग, जनता र देशका विरुद्ध छ भने जतिसुकै शक्तिशाली देखिए पनि विश्व पुँजीवाद–साम्राज्यवादसँग झुक्नुभएन, बरु सशक्त विद्रोह गर्नुभयो र प्रतिरोध सङ्घर्ष सञ्चालन गर्नुभयो । नामी भनिएको जापानी साम्राज्यवादलाई लखेट्न च्याङ काईसेकसँग मिल्नुभयो तर हार खानुभएन । जापानलाई लखेटेपछि जनतामाथि हैकम र लुट मच्चाउने चिनियाँ पुँजीवादका विरुद्ध भीषण वर्गयुद्ध हाँक्नुभयो । अन्ततः जनताको विजय भयो र चीनमा नयाँ जनवाद–वैज्ञानिक समाजवाद स्थापना भयो ।

माओले जापानविरुद्ध प्रतिरोध युद्ध चलाउँदा होस् वा च्याङविरुद्ध जनमुक्ति युद्ध चलाउँदा होस्– एकथरी मान्छेहरूले माओलाई दुस्साहसवादी र युद्धवादीको आरोप लगाउँदै सफल हुन नसक्ने प्रचार चलाएका थिए । तर, उनीहरूको बुझाइ गलत साबित भयो र चीनसँगै चिनियाँ जनताले सबै उत्पीडनबाट मुक्ति पाउन सफल भए । यसले सावित गर्‍यो– शक्ति र पुँजीले केही समय प्रभाव जमाउन सके तापनि अन्तिम सफलता पार्टी नेतृत्वले लिने सही विचार, नीति र श्रमिक जनताको साथ, सहयोग एवम् सहभागिताद्वारा निर्धारण हुन्छ ।

माओले श्रमिकवर्ग, जनता र अन्तर्राष्ट्रिय वर्गलाई क्षति पुग्ने देखेपछि आफ्नै सहयोद्धा, सरकार र पार्टी समितिहरूसँग पनि कठोर सङ्घर्ष गर्नुभयो । श्रमिक जनताको हितका लागि आफ्नो पद, हैसियत र सुविधालाई सामान्य ठान्नुभयो । दक्षिणपन्थी बाटो लिने छन तु स्युसँग लडेर क्रान्तिलाई अगाडि बढाउँदा होस् वा लीली सान र वाङ मिङको यान्त्रिक भौतिकवादी एवम् वामपन्थी अवसरवादका विरुद्ध लडेर दीर्घकालीन जनयुद्धको कार्यदिशा विकास गर्दा होस्– माओले निकै अप्ठ्याराहरूसँग लड्नुपर्‍यो । उहाँलाई वाङ मिङहरूले ‘कारबाही’ गर्दा समेत नरोकिएर क्रान्तिलाई अगाडि बढाउनुभयो । अन्ततः शक्तिशाली भनिएका वाङ मिङहरू पराजित भए र माओको विचारले सफलता हासिल गर्‍यो ।

श्रमिकवर्ग र जनताका पक्षमा विद्रोहको समयमा मात्र होइन, सत्ता प्राप्त भएर आफैंले सत्ता सञ्चालन गर्दा पनि कठोर सङ्घर्ष चलाउन माओ तयार हुनुभयो । यो सङ्घर्षमा पनि उहाँले आफ्नो हैसियत र पदको पर्वाह नगरी श्रमिक जनता, कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवाद–साम्यवादका पक्षमा प्रत्यक्ष नेतृत्व गर्नुभयो । आफैंले निर्माण गरेको सत्ताभित्र आफैं अल्पमतमा परेर कयौं घेराबन्दीमा पर्दा पनि उहाँ विचलित हुनुभएन बरु श्रमिक जनतालाई नयाँ विद्रोहका लागि अपिल गर्न पछि पर्नुभएन । अन्ततः पद र शक्तिको दुरूपयोग गरेर गलत विचार लाद्न चाहने दक्षिणपन्थीहरूको पराजय भयो ।

माओले श्रमिकवर्ग र जनताका पक्षमा उभिँदा साम्राज्यवादी र पुँजीवादी शक्तिका विरुद्ध मात्र क्रान्ति गर्नुभएन, अपितु अदभुत साहस गर्दै आफैंले स्थापना गरेको नयाँ जनवादी–वैज्ञानिक समाजवादी सत्तामा देखिएका विचलन र खराबीका विरुद्ध समेत क्रान्ति गर्नुभयो । महान् सर्वहारा सांस्कृतिक क्रान्तिका रूपले स्थापित यो क्रान्ति विश्वराजनीति र कम्युनिस्ट आन्दोलनका लागि अद्वितीय पहल थियो । अनेकौं घेराबन्दी र खतराका बीच पुरानो सत्ता र शासकवर्गका विरुद्ध मात्र होइन, नयाँ सत्तामा हुर्किएको शोषकवर्गका विरुद्ध पनि क्रान्ति छेड्नु कल्पनाबाहिरको विषय थियो । यसले संसारभरिका कम्युनिस्टलाई वैज्ञानिक दृष्टिकोण र वैज्ञानिक समाजवाद निर्माण गर्नका लागि शक्तिशाली हतियार उपलब्ध गरायो ।

यतिबेला नेपाली राजनीतिक सन्दर्भसँग जोडेर माओ दिवसलाई हेर्दा निकै घतलाग्दो छ । कारण, हाम्रो देशमाथि विदेशी साम्राज्यवादी हस्तक्षेप, देशभित्र दलाल पुँजीवादी सत्ताको अत्याचार तथा उत्पीडन र संशोधनवादी प्रदूषण व्यापकरूपले बढिरहेको छ । यिनै समस्याका विरुद्ध लड्नका लागि माओका शिक्षा र दृष्टिकोण विशेष महत्त्वका छन् । अर्को कुरा, नेपालमा श्रमिक जनताले दलाल पुँजीवादी सत्ताविरुद्ध नेकपाको नेतृत्वमा क्रान्ति सञ्चालन गरिरहेका छन् र वैज्ञानिक समाजवाद प्राप्त गर्ने चाहना राखिरहेका छन् । स्पष्ट भन्दा माओका विचारलाई सही प्रकारले नपक्डेसम्म नेपाली जनताका तीन बैरीसँग जोडदार ढङ्गले सामना गर्न र तीमाथि विजय हासिल गर्न सकिने छैन ।

हामी देखिरहेका छौं– आज अमेरिकी साम्राज्यवादी हस्तक्षेप निकै बढेर डरलाग्दो ठाउँमा पुगेको छ । त्यसैगरी, भारतीय साम्राज्यवादी हस्तक्षेप पनि निरन्तर जारी छ । हामीले समयमै प्रतिवाद गर्न सकेनौं भने नेपालले राष्ट्रिय स्वाधीनताको लामो लडाइँमा प्रवेश गर्नुपर्ने बाध्यता आइलाग्न सक्ने छ । संसदवादी पार्टी र तिनका नेताहरू आफ्नो तुच्छ स्वार्थका लागि अमेरिकी र भारतीय हैकमका सामु थरथर काँपिरहेका छन् । उनीहरूले साम्राज्यवादीको स्वार्थभन्दा बाहिर गएर सफल नभइने मात्र होइन, बाँच्नै गाह्रो हुनेजस्तो नालायक अभिव्यक्ति दिँदै हिँडेका छन् ।

तर, हामीले बुझ्नुपर्छ– हाम्रा श्रमिक जनता र देशभन्दा अमेरिकी एवम् भारतीय हस्तक्षेप सामान्य विषय हुन् । उनीहरूले हाम्रा जनता र देशमाथि कुदृष्टि लगाउँछन् र हामीलाई २१औं शदीमा आफ्नो निर्देशन र नियन्त्रणमा चल्नेजस्तो ठान्छन् भने हामी अलिकति पनि तर्सिनु र हच्किनु हुँदैन । हामीले कुनै पनि साम्राज्यवादी कागजी बाघका विरुद्ध डटेर प्रतिरोध–सङ्घर्ष सञ्चालन गर्न तयार हुनुपर्छ ।

पछिल्लो समय देशको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था पनि नेपाली जनताको दुर्दशा बनिरहेको छ । जनजीवनका चौतर्फी क्षेत्रमा सङ्कट बढ्दै गएका छन् । यसले विदेशी मालिकको इसरामा जनतामाथि असीमित शोषण गरिरहेको छ । यो सत्ता र सत्तासीन वर्गलाई आफ्नो स्वार्थ, वैभव र सुखभन्दा अरू कसैको मतलब छैन ।

जनताले जुन राजनीतिक परिवर्तन गरे, आफ्नो श्रम र पौरखद्वारा पुँजीको उत्पादन गरिरहेका छन्, तिनको जीवनमा कुनै परिवर्तन छैन । सामान्य जीवन निर्वाह गर्नका लागि बेचिनुपर्ने बाध्यता छ । श्रमिक जनता र सत्ताका बीचमा सङ्घर्ष चलिरहेको छ । तसर्थ, यो सत्ताका विरुद्ध विद्रोह गर्न, यसको अन्त्य गर्न र श्रमिक जनताको वैज्ञानिक समाजवाद स्थापना गर्न हामीले कडा मेहनत र सङ्घर्ष गर्नुपर्छ । नेकपाको नेतृत्वमा एकीकृत जनक्रान्ति जसरी अगाडि बढिरहेको छ, यसको सफलता र वैज्ञानिक समाजवादको स्थापनाविना देश र जनताको उन्नत एवम् सुन्दर भविष्य असम्भव छ ।

हाम्रो देशमा देखापरेको अर्को समस्या कम्युनिस्ट आन्दोलनमा वर्गविचलन र विचारको विचलन हो । सरकार, पद र अवसरका लागि सारा मूल्य–मान्यताहरूलाई समाप्त पार्दै प्रतिक्रियावादी दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाकै महिमागान र पक्षपोषण गर्नेमा यो विचलन व्यक्त भइरहेको छ । श्रमिकवर्ग, समुदाय, जनता र देशको हितमा अन्तिमसम्म मेहनत, श्रम, सङ्घर्ष र त्याग गर्नु कम्युनिस्टहरूको पहिचार र सिद्धान्त हो ।

तर, नेपाली कम्युनिस्ट आन्दोलनमा पैदा भएको विचलनकारी प्रवृत्तिले प्रतिक्रियावादी संसदीय सत्ताका पक्षमा क्रान्तिकारी विद्रोही शक्ति, पार्टी र वर्गका विरुद्ध दमन समेत गरिरहेको छ । यसले श्रमिक जनताबीच कम्युनिस्ट आन्दोलनलाई क्षति पुर्‍याउनुका साथै बदनाम गरिरहेको छ । हामीले यो प्रवृत्तिका विरुद्ध निर्मम सङ्घर्ष गर्नुपरेको छ ।

हरेक असल कम्युनिस्ट र कम्युनिस्ट समर्थक जनताका बीचमा वास्तविक कम्युनिस्ट सिद्धान्त, विचार, नीति र संस्कारलाई नयाँ आधारमा खडा गर्न जोड लगाउनुपर्छ । त्यसका लागि श्रमिक जनता, वैज्ञानिक समाजवाद–साम्यवादप्रति प्रतिबद्ध, सारा क्रान्तिकारी मित्रशक्ति र कम्युनिस्टहरूलार्ई एकताबद्ध बनाउने कम्युनिस्ट पार्टीको निर्माण गर्नु अपरिहार्य छ । हामीले बुझ्नैपर्छ– कम्युनिस्टलाई कम्युनिस्ट बनाइरहने सङ्घर्ष गर्न बढी नै पेचिलो छ । तर, कम्युनिस्टलार्ई निरन्तर रूपान्तरण गर्दै असल कम्युनिस्ट बनाइरहन सम्भव छ र सम्भव तुल्याउनु पनि पर्छ किनकि असल कम्युनिस्ट र कम्युनिस्ट पार्टीको निर्माणविना दलाल पुँजीवादी सत्तामाथि विजय हासिल गर्न र वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्न पनि सकिँदैन ।

सारसङ्क्षेपमा भन्दा माओ दिवसको अन्तर्राष्ट्रिय सम्बन्ध तीन अन्तर्विरोध र सङ्घर्षसँग जोडिएको छ– पहिलो, संसारमा अत्याचार र उत्पीडन गरिरहेको विश्व पुँजीवादी–साम्राज्यवादी प्रवृत्तिका विरुद्ध हरेक देशको सार्वभौमिकता र स्वाधिनताका पक्षमा सङ्घर्ष गर्नु; दोस्रो, पुँजीवादी–दलाल पुँजीवादी सत्ता चलिरहेका देशहरूमा त्यसले श्रमिक जनतामाथि लादिरहेको शोषण, दमन र उत्पीडनको अन्त्य गर्ने र वैज्ञानिक समाजवाद स्थापना गर्ने क्रान्ति अगाडि बढाउनु र तेस्रो, विश्व कम्युनिस्ट आन्दोलनमा देखा परिरहेका दक्षिणपन्थी, संशोधनवादी विचालनका विरुद्ध सङ्घर्ष गर्दै कम्युनिस्ट आन्दोलनलाई मार्क्सवाद–लेनिनवाद–माओवादको आलोकमा सङ्गठित गर्नु । विश्वभरिका श्रमिक जनतालाई वैज्ञानिक समाजवाद– साम्यवादको महान् लक्ष्यमा अग्रसर गराउनु ।

आउनुहोस्, यिनै उद्देश्यलाई मन–मस्तिष्कमा राखेर एकीकृत जनक्रान्तिको झन्डामुनि १२९औं माओ दिवस भव्यताका साथ मनाऔं !

२६ डिसेम्बर, २०२१

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर