newskoseli.Com

एमाले स्थायी समिति बैठक जारी

आन्तरिक विवाद समाधान गर्न सरकारकाे नेतृत्वकर्ता दल नेकपा (एमाले) को स्थायी समिति बैठक जारी छ । दिउँसो एक चरण बसेर स्थगित भएको बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिसँगै दलभित्रको असन्तुष्टिलाई किनारा लगाउने विषयमा छलफल हुनेछ ।

प्रमुख सत्ता सझेदार नेकपा (माओवादी केन्द्र) ले सरकार परिवर्तनको विषय उठाइरहेको र उक्त विषयमा दलभित्रैबाट नै असन्तुष्टि रहेकाले स्थायी समितिमार्फत टुङ्गो लगाउन प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । बालुवाटारमा बिहान बसेको बैठकमा पार्टीको आन्तरिक विवादबारे खुला छलफल भएको एक नेताले जानकारी दिए ।

बैठकमा माओवादीसँग भएको भद्र सहमति र नेपाल–खनाल समूहले सरकारका बारेका गरेका टिप्पणीको बारेमा पनि छलफल हुने बताइएको छ । सरकार परिवर्तनको विषयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै भद्र सहमति नभएको दावी गरिरहँदा वरिष्ठ नेता झलनाथ खनालले भने आफू स्वयम् त्यसको साक्षी रहेको भन्दै सरकार परिवर्तनकाे बेला आएको टिप्पणी गर्दै आएका छन् ।

स्थायी समिति बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीले तत्काल खेल्नुपर्ने भूमिका, दलभित्रको आन्तरिक विषय, केन्द्रीय कमिटीको निर्णयानुसार प्रदेश कमिटी गठन, पार्टीका केन्द्रीय निकाय, सल्लाहकार परिषद् मनोनयन तथा व्यवस्थापिका–संसदमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका निम्ति दलले लिनुपर्ने रणनीतिबारे छलफल हुनेछ। बैठक केही दिन लम्बिने एमालेले जनाएको छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर