newskoseli.Com

देउवा–ओली भेटवार्ता : के–के भए कुराकानी ?

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र अपदस्थ प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष खड्ग ओलीबीच भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओलीनिवासमा शनिवार बिहान नेताद्वयबीच भेटवार्ता भएको हो ।

ओली निवास पुगेका प्रधानमन्त्री देउवा र ओलीबीच समसामयिक राष्ट्रिय सन्दर्भमा ‘वान–अन–वान’ वार्ता भएको हो । आफू अपदस्थ भएदेखि एमालेले अवरोध गरेर संसद चल्नै दिएको छैन । यसैबीच सर्वोच्च अदालतमा समेत गत्यावरोध कायम छ ।

यिनै सन्दर्भको समाधान खोज्न बुधवार पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ओलीनिवासमै पुगेर भेटघाट गरेका थिए । ओलीले पौडेलसँग सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुपर्ने र एमाले विभाजित गरी नेकपा (एकीकृत समाजवादी) गठन गरेका नेताहरुलाई ‘कारबाही’ गर्नुपर्ने माग राखेका थिए ।

शनिबार प्रधानमन्त्रीसँगको भेटघाटमा समेत ओलीले यिनै विषयमा बिलौना गरेको बालकोट स्रोतले बताएको छ । भेटघाटपछि देउवा र ओली दुवैले सञ्चार माध्यमलाई कुनै प्रतिक्रिया दिएका छैनन् । राष्ट्रिय राजनीतिक विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

‘उहाँहरुबीच ठ्याक्कै के–के कुराकानी भए भन्नेबारे हामीलाई केही बताउनुभएको छैन, विषय राष्ट्रिय राजनीतिकै हो’– ओलीका स्वकीय सचिव रामशरण बजगाईंको भनाइ छ । प्रधानमन्त्री देउवाको सचिवालयले पनि भेटमा के–के कुराकानी भए भन्नेबारे केही खुल्न नसकेको जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर