newskoseli.Com

प्रचण्डको ‘कडा’ सर्कुलर : माघ २७ मा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय सदस्य चयन

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय पदाधिकारीहरुको चयन र बाँकी रहेका केन्द्रीय सदस्यहरुको मनोनयन माघ २७ मा गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार अन्तर्पार्टी परिपत्र जारी गर्दै पार्टीपंक्तिमा सोको जानकारी गराएका हुन् ।

यसअघि मिति तोकेर पनि दुई पटक स्थगित केन्द्रीय समितिको बैठक माघ २७ देखि काठमाडौमा बस्ने र सोही बैठकले पदाधिकारी चयन, केन्द्रीय समितिको पूर्णता, समसामयिक राजनीतिलगायतका निर्णय गर्ने अध्यक्ष प्रचण्डले जनाएका छन् । आठौं राष्ट्रिय महाधिवेशन सकिएको डेढ महिनापछि केन्द्रीय समितिले पूर्णता र पार्टीले केन्द्रीय पदाधिकारी पाउने भएको छ ।

पुस ११–१८ मा राजधानीमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न र विभिन्न कलस्टरबाट केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । सोही प्रयोजनका लागि पुस २५ बोलाइएको बैठक माघ ८ मा सारिएको थियो । माघ ८ मा पनि कोरोना महामारी उत्कर्षमा पुगेका कारण बैठक बस्न नसकेपछि माघ २७ मा बोलाइने भएको हो ।

सोही बैठकले नै केन्द्रीय पोलिटब्युरो र स्थायी समिति समेत गठन गर्ने अध्यक्ष प्रचण्डद्वारा जारी अन्तर्पार्टी परिपत्रमा उल्लेख छ । सोही बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभिाजनसहित महाधिवेशनबाट पारित कार्यदिशाअनुरुप कार्ययोजना निर्माण समेत गरिने सो परिपत्रमा प्रचण्डले उल्लेख गरेका छन् ।

केन्द्रीय समितिको सो बैठकले अर्को निर्णय नलिएसम्म यसअघिकै प्रदेश, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय एवं मोर्चा संगठनहरुका इन्चार्जहरुलाई नै यथावत कार्यसञ्चालन गर्न भनिएको छ । सबै प्रदेश समितिहरुलाई आ–आफ्ना प्रदेश समिति सदस्य र पदाधिकारी निर्वाचन कार्यलाई यथासिघ्र पूर्णता दिन पनि अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन् ।

आउँदो वर्ष २०७९ ‘निर्वाचन वर्ष’ हुने भन्दै त्यसका निम्ति आवश्यक अध्ययन, विश्लेषण र योजना निर्माणको पहल सुरु गर्न पनि अध्यक्ष प्रचण्डले पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । माघ १२ मा हुने राष्ट्रियसभा निर्वाचनमा ५ दलीय गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउने गरी समन्वयात्मक ढंगले काम गर्न समेत पार्टीका नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर