newskoseli.Com

‘वैशाखमै चुनाव गर्न’ प्रधानमन्त्रीमाथि राष्ट्रपतिको ‘दबाव’ !

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर ‘संविधानले भनेकै समयमा’ स्थानीय तहको निर्वाचन गर्न ‘सुझाव’ दिएकी छन् । राष्ट्रपतिको यो ‘सुझाव’ लाई प्रधानमन्त्री देउवा र समग्र राजनीतिक वृत्तले भने सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् ।

‘राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो,’ राष्ट्रपतिसँगको भेटवार्तापछि प्रधानमन्त्री देउवाले केही मन्त्रीसँग भने– ‘मैलेचाहिँ यो विषय सरकारले निर्णय गर्ने कुरा हो, उपयुक्त निर्णय गर्छ भनिदिएँ ।’

राष्ट्रपतिले प्रधानमन्त्रीलाई संवैधानिक प्रावधानका विषयमा ‘स्मरण’ मात्र गराएको शीतलनिवास स्रोतले बतायो । राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकालले सञ्चार माध्यमलाई भनेका छन्– ‘कुनै तिथि–मितिको कुरा गर्नुभएको होइन, संविधान र कानुनमा जे व्यवस्था छ, त्यसअनुसार अगाडि बढ्नुपर्छ भन्नुभएको हो, सारांशमा त्यही बुझ्दा हुन्छ ।’

चुनावबारे सबैसँग सरसल्लाह भइरहेको प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई बताएको उल्लेख गर्दै ढकालले भने– ‘प्रधानमन्त्रीज्यूले साथीहरुसँग सल्लाह गरेर निर्णय लिन्छु भन्नुभएको छ ।’ निर्वाचन आयोग र विपक्षी एमालेले समेत स्थानीय चुनाव वैशाखमै हुनुपर्ने जिद्दी गरिरहेका बेला राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर नै ‘संविधान र कानुन सम्झाउने’ कार्यलाई राजनीतिक क्षेत्रमा अर्थपूर्ण रुपले हेरिएको छ ।

वैशाखमै चुनाव गर्न निर्वाचन आयोगले पनि सरकारलाई निरन्तर ‘दबाव’ दिँदै आएको छ । सत्ता गठबन्धनले भने स्थानीय चुनावलाई आगामी हिउँदमा सार्ने तयारी गरिरहेको छ । ‘कार्यकाल सकिएपछि मात्रै चुनाव हुने व्यवस्था संविधानमा स्पष्ट हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोलाएर वैशाखमै चुनाव गर भन्नु शीतलनिवासको हस्तक्षेप नै हो भन्ने हाम्रो बुझाइ छ’– राष्ट्रपति भेटिसकेपछि प्रधानमन्त्री देउवासँग छलफल गरेका एक मन्त्रीको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर