newskoseli.Com

‘निर्णायक बैठक’ : गठबन्धन टुट्छ कि एमसीसी तुहिन्छ ?

अमेरिकी सहयोग नियोगका नाममा एशिया–प्यासिफिक रणनीतिको अंगका रूपमा नेपालमा लाद्न खोजिएको बहुचर्चित एवं बहुविवादित एमसीसी सम्झौता निर्णायक मोडमा पुगेको छ । एमसीसीको लफडा अब या त केही दिनभित्रै संसदको बहुमतबाट पारित हुने नत्र खारेज या फिर्ता हुने चरणमा पुगेको अनुभूति गरिँदै छ ।

संसद र सरकारमा नरहेका देशभक्त एवं क्रान्तिकारी शक्तिहरूको निरन्तरको तीव्र विरोध र प्रतिरोधका अतिरिक्त केही दिनयता संसद् र सरकारमै रहेका दल र तीसँग सम्बद्ध जनसंगठनहरू समेतको विरोधका कारण एमसीसी ‘जुनसुकै हालतमा पारित गराइछाड्ने’ हर्कतमा लागेका शक्तिहरू तिल्मिलाउन पुगेका छन् । सत्ता गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलहरूमध्ये नेपाली कांग्रेसबाहेक अरू दलहरू ‘यथास्थितिमा एमसीसी पारित गर्न नसकिने’ निर्णयमा पुगेका छन् । वर्तमान सरकारको निर्णायक घटक नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठकबाटै यथास्थितिमा एमसीसी पारित गर्न बलजफ्ती गरिए विपक्षमा मतदान गर्ने र गठबन्धन तोडेर सत्ताबाट बाहिरिने निर्णय गरिसकेको छ ।

अब यस्तो अवस्था सिर्जना भइसकेको छ कि या त सत्ता गठबन्धन टुट्छ नत्र एमसीसी तुहिन्छ । वर्तमान पाँचदलीय गठबन्धन टुटे तापनि एमसीसी पारित गर्न देउवा सरकारलाई एमालेले नसघाउने पक्कापक्कीजस्तै देखिएको छ । त्यो स्थितिमा प्रधानमन्त्री पदबाट समेत शेरबहादुर देउवा विस्थापित हुनेछन् र फेरि पनि सत्ताको बागडोर समाल्न खड्ग ओली नै आइपुग्ने छन् । त्यसपछि मात्रै ओली समूहको सहयोगी बनेर नेपाली कांग्रेसले एमसीसी पारित गराउन सक्ने देखिएको छ ।

देउवा सरकार विघटन भई ओली नेतृत्वको अर्को सरकार नबनेसम्म एमसीसी पारित गराउन कांग्रेसलाई सघाउनेमा संसदभित्र महन्थ ठाकुर–राजेन्द्र महतोको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहेक कोही तत्पर देखिएको छैन । बाबुराम भट्टराई–उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) भित्र उनै बाबुराम र अरू एकाध सांसद्हरू भने एमसीसीको पक्षमा छन् । माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले कुनै हालतमा पनि यथास्थितिमा एमसीसी पास गर्न नसघाउने बरू गठबन्धन तोडिन पुगे स्वीकार गर्ने मनस्थिति बनाइसकेको र सोहीअनुरूपको निर्णय लिइसकेको देखिँदैछ ।

यो अवस्थामा बुधबार टेबल गर्ने अधिकतम प्रयास गरेर पनि गर्न नसकेको एमसीसी सम्झौता शुक्रबार ‘जसरी भए पनि’ प्रतिनिधिसभामा टेबल गर्ने ढिपी प्रधानमन्त्री देउवा र नेपाली कांग्रेसका नेताहरूले छाडेका छैनन् । दुई दिन पछि सारेर बिहीबार साँझ गठबन्धनका दलहरूबीच ‘निर्णायक बैठक’ गर्ने सहमति बुधबार भएको थियो । यो बैठकपछि या त एमसीसी तुहिने वा केही महिना पछिका लागि सर्ने नत्र गठबन्धन टुट्ने सम्भावना देखिँदै छ ।

तस्बिरः एमसीसीको प्रतिरोधमा राजधानीको नयाँबानेश्वरमा फागुन ४ गते भएको आन्दोलनका क्रममा
एक सहभागी र सुरक्षाकर्मीको दृश्य, स्रोत– सामाजिक सञ्जाल

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर