newskoseli.Com

मोहन वैद्यको आह्वान : ‘राष्ट्रघातविरुद्ध संघर्षमा अघि बढौं’

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले राष्ट्रघातको विरुद्ध सङ्घर्षमा अगाडि बढ्न देशभक्त, सच्चा लोकतन्त्रवादी, वामपन्थी र क्रान्तिकारी पार्टी, समूह एवम् व्यक्तित्वहरूमा आह्वान गरेका छन् । आइतबार (१५ फागुन, २०७८) राति प्रतिनिधिसभाले राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरेको घटनाका सन्दर्भमा पार्टीको धारणा व्यक्त गर्दै महासचिव किरणले सोमबार अपराह्न विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

‘देशभक्त नेपाली जनताको देशव्यापी विरोध तथा राष्ट्रिय स्वाधीनताका पक्षधर कतिपय सांसद्हरूको पूर्ण असहमतिका बाबजुद विभिन्न प्रलोभन, तिकडम, जालझेल, षड्यन्त्र र दमन तथा धरपकडका बीचबाट अमेरिकी सैन्य रणनीति अन्तर्गतको एमसीसी परियोजनालाई २०७८ फागुन १५ गते राति नेपालको प्रतिनिधिसभाको बहुमतले अनुमोदन गरेको छ,’ महासचिव वैद्यले विज्ञप्तिमा लेखेका छन्– ‘यसले नेपाललाई आफ्नो सुरक्षा छाताभित्र पार्न, चीनलाई घेरा हाल्नका लागि नेपालमा सैन्य अखडा बनाउन र यहाँका बहुमूल्य राष्ट्रिय सम्पदाको दोहन गर्न अमेरिकी साम्राज्यवादलाई बाटो खोलिदिएको छ ।’

‘यस प्रकारको राष्ट्रघाती सम्झौतालाई संसद्बाट अनुमोदन गराएर नेपालका संसद्वादी राजनीतिक पार्टीका नेताहरू देशलाई नवऔपनिवेशिक महाजालमा पार्ने अमेरिकी साम्राज्यवादको योजनाका विश्वासिला मतियार सावित भएका छन्,’ महासचिव वैद्यको विश्लेषण छ– ‘कुनै पनि हालतमा संशोधनविना सम्झौता अनुमोदन नगर्ने कबुल गर्दै आएका र आफूलाई देशभक्त भएको दावी गर्ने कम्युनिस्ट नामधारी घोर अवसरवादी नेताहरू अमेरिकी साम्राज्यवादको दलाली गर्ने काममा राष्ट्रघातको लामो इतिहास बोकेको नेपाली कङ्ग्रेससँग एक ठाउँमा उभिएका छन् । अमेरिकाले सम्झौतामा कुनै संशोधन हुन नसक्ने कुरा बारम्बार भन्दै आएको स्थितिमा गरिएको कथित व्याख्यात्मक घोषणा एमसीसी सम्झौताको अङ्ग हुन सक्दैन । यो अवसरवादी र राष्ट्रघाती दलालहरूको लाज ढाक्ने फाटेको जालबाहेक केही होइन ।’

क्रान्तिकारी माओवादीले भनेको छ– ‘यो केही दर्जन सांसद्हरू र केही मन्त्रीहरूको जागिर बचाउनका लागि साम्राज्यवादका दलालहरूले राष्ट्रिय स्वाधीनतासँग सौदाबाजी गर्न तयार पारेको पुलिन्दा मात्र हो । देशको राष्ट्रिय स्वाधीनता दिनप्रतिदिन अत्यन्त कमजोर बन्दै गएको छ । कम्युनिस्ट नामधारी संशोधनवादी पार्टीका नेताहरू र आफूलाई लोकतन्त्रवादी भन्ने नेपाली काङग्रेसका नेताहरूले नै देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली जनताको स्वाभिमानलाई विदेशीको पोल्टामा सुम्पिने काम गर्दै आएका छन् ।’

सम्पूर्ण देशभक्त, सच्चा लोकतन्त्रवादी, वामपन्थी र क्रान्तिकारी पार्टी, समूह एवम् व्यक्तित्वहरूमा आह्वान गर्दै विज्ञप्तिको अन्त्यमा किरणले लेखेका छन्– ‘हामीले यस्ता पार्टी र तिनका राष्ट्रघाती कामको निरन्तर विरोध गर्दै आएका छौं । नेपाल साम्राज्यवाद तथा विस्तारवादको चङ्गुलमा फस्दै आएको वर्तमान सन्दर्भमा देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति गोलबन्द भई सङ्घर्षमा अगाडि बढ्न हाम्रो पार्टी सम्पूर्ण देशभक्त, सच्चा लोकतन्त्रवादी, वामपन्थी र क्रान्तिकारी पार्टी, समूह एवम् व्यक्तित्वहरूमा हार्दिक आह्वान गर्दछ ।’

यस्तो छ क्रान्तिकारी माओवादीको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर