newskoseli.Com

‘निःशुल्क उपचार हुने रोग नै लुकाउँदा झन् समस्या’ : ‘क्षयरोगमुक्त नेपाल’ बनाइने

सरकारले ‘क्षयरोगमुक्त नेपाल’ बनाउने नीतिलाई कार्यान्वयन गर्दै आगामी चार वर्षभित्र देशभर यो अभियान चलाइने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले दावी गरेका छन् । ‘विश्व क्षयरोग दिवस, २०७८’ का अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा बोल्दै विश्व स्वास्थ्य सङ्गठनले लिएको क्षयरोग अन्त्यको रणनीति र संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय बैठकले त्यस रणनीतिलाई कार्यान्वयन गर्न जनाएको प्रतिबद्धतासँगै नेपाल सरकारले समेत त्यसमा थप प्रतिबद्धता जनाएको उनले बताए ।

‘क्षयरोगमुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई क्रमशः विस्तार गर्दै आगामी चार वर्षभित्र ७५३ वटै स्थानीय तहमा कार्यान्वयनमा ल्याउनेछौं,’ मन्त्री खतिवडाले भने– ‘त्यसका लागि आवश्यक पर्ने थप नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रलाई आवश्यक निर्देशन दिन्छ र सहयोग पनि गर्नेछ ।’

क्षयरोग निवारण कार्यक्रमलाई थप प्रभावकारी बनाई रोग निवारण गर्ने उद्देश्यले गुणस्तरीय क्षयरोग सेवा वृद्धि गर्ने तथा बिरामी र तिनका परिवार एवं समुदायलाई सशक्तीकरण गर्ने काममा राष्ट्रिय क्षयरोग कार्यक्रमले जोड दिइरहेको उनको भनाइ छ । गरिव, अल्पविकसित र विकासशील राष्ट्रका लागि क्षयरोग जनस्वास्थ्यको एक प्रमुख समस्याका रूपमा हालसम्म पनि रहिरहेको उनले बताए । सरकारले यस रोगको अन्त्यलाई उच्च प्राथमिकतामा राखी एकीकृत स्वास्थ्य सेवाका माध्यमबाट समुदायस्तरसम्म विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताए ।

राज्यमन्त्री भवानीप्रसाद खापुङले पनि सोही कार्यक्रममा बोल्दै रोग लुकाउने प्रवृत्तिले अझै पनि ४० लाखभन्दा बढी क्षयरोगी उपचारमा आउन नसकेकाले चुनौती बन्दै आएको क्षयरोग निवारणलाई सफल पार्न सबै निकायको सहयोग आवश्यक रहेको बताए । मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले ‘हराएका क्षयरोगी पत्ता लगाउने’ जिम्मेवारी सबैको भएको औँल्याइन् । निःशुल्क उपचार हुने रोग पनि अरुले थाहा पाउला कि भनेर लुकाउने प्रवृत्तिले बिरामीको सङ्ख्या बढ्दै गएको सचिव गुरागाईंको भनाइ छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अध्यक्ष एवं मन्त्रालयका सचिव डा. रोशन पोखरेलले क्षयरोग निवारणमा आएका चुनौती र सरकारी प्रयासबारे चर्चा गरे । केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुरले क्षयरोगको वर्तमान अवस्थाबारे जानकारी गराएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर