
महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शिता र सुशाशन भेटिने गरेको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बताएका छन् । बजेटमा महिलाहरुको सुझाव संकलन गर्ने उद्देश्यले मंगलबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा बोल्दै बजेटबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन प्रयास गरिने उनले बताए ।
‘आत्मसम्मानसहितको आर्थिक निर्भरता प्रमुख कुरा हो र यसका लागि शिक्षा र स्वास्थ्य अनिवार्य सर्त हो’ उनले भने– ‘महिलाहरुमा शिक्षा–स्वास्थ्यको पहुँच वृद्धि गर्यो भने समाजलाई शिक्षित बनाउने अभियान छिटै हासिल हुने मेलै देखेको छु ।’
सामाजिक चेतना वृद्धि नगरी महिला हिंसा अन्त्य नहुने धारणा उनले राखे । महिला हिंसा अन्त्यका लागि आम महिलालाई जोडेर समाजमा चेतना वृद्धि गर्ने गरी बजेटको गृहकार्य भएको अर्थमन्त्री शर्माले बताए ।
सोही कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाका क्षेत्रमा कम बजेट बिनियोजन भएको गुनासो गरिन् । प्रत्येक प्रदेशमा प्रसूती अस्पताल, कैलालीका महिलाले न्याय पाउन सिंहदरबार धाउनुपर्ने अवस्थाको अन्त्य, महिला उद्यमशीलताको विकास, ग्रामीण र सहरी क्षेत्रका महिलालाई अलग–अलग नीति हुनुपर्नेलगायतका सुझाव उनले दिइन् ।
छलफलमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने दुई दर्जन नेतृ, अभियन्ता, सञ्चारकर्मी, उद्यमीलगायत उपस्थित थिए ।