newskoseli.Com

माओवादी नै किन ? यी हुन् मूल कारण…

टेलिभिजन प्रस्तोताको पहिलो प्रश्न थियो– दसवर्षे जनयुद्ध गर्नु भो, देशले के पायो ? मेरो जवाफ थियो– म धेरै कुरा बताउन सक्छु तर तपाईंको सीमित समयमा यो सम्भव छैन र तपाईंले बुझ्ने भाषामा बताउनु पर्दा तपाईं र म टेलिभिजनमा कुराकानी गरिरहेका छौं, त्यो माओवादी जनयुद्धको उपलब्धि हो । यो अन्तर्वार्तापछि निर्बाधरुपमा तपाईं–म घर फर्कन्छौं, त्यो जनयुद्धको उपलब्धि हो । त्यसमा पनि तपाईं महिला यो व्यवसायमा दमका साथ कार्यरत हुनुहुन्छ, यो जनयुद्धको उपलब्धि हो । अझ मभन्दा लगत्तै पछि तपाईं एक दलित महिला माननीयको अन्तर्वार्ता गर्दै हुनुहुन्छ, त्यो पनि जनयुद्धको उपलब्धि हो ।

संसदमा ३३ प्रतिशत महिलाको उपस्थिति, स्थानीय तहमा ४० प्रतिशतभन्दा बढीको उपस्थिति जनयुद्धको उपलब्धि हो । यो सवै उपलब्धिलाई संस्थागत गर्ने नयाँ संविधानका कारणले हो । यो नयाँ संविधान जनयुद्धको उपलब्धि हो । यो नयाँ संविधान जनताका प्रतिनिधिहरुको संस्था संविधान सभाको उपलब्धि हो, जो संविधान सभाका लागि हजारौंको बलिदान भएको छ । संविधान सभा जनयुद्धको उपलब्धि हो । तपाईंलाई थाहा छ– माओवादीले संविधान सभा माग्दा राजासँग मिलेर अरु दलले माओवादीलाई आतंककारी घोषणा गरेका थिए ।

अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भएको छ । अरु दलहरु राजासँग मिलेर जनयुद्धकारीहरुलाई आतंककारी घोषित गरिरहँदा माओवादी भने आतंककारीको विल्ला स्वीकार गरेरै भए पनि गणतन्त्रका लागि युद्धमा थियो । त्यसैको परिणाम आज मुलुकमा राजतन्त्रको ठाउँमा गणतन्त्र स्थापित भएको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्ष र समावेशी÷समानुपातिक प्रणाली माओवादी जनयुद्धका उपलब्धि हुन्, ती सबै आज प्राप्त भएका छन् ।

यति मात्रै हैन, दोस्रो दर्जाका नागरिक ठानिएका महिला आज बराबरीका हकदार भएका छन् । अछूत ठानिएका दलितहरु आज आरक्षण र विशेषाधिकारसहित राजनीतिक दल, सरकार, संसद र राज्यका हरेक निकायहरुमा प्रतिनिधित्व मात्रै हैन नेतृत्व गरिराखेका छन् । आदिवासी जनजातिहरुको जनसंख्याको अनुपातमा प्रतिनिधित्व सुनिश्चित भएको छ । मधिशे भनेर हेपिएका दाजुभाइ दिदी–बहिनीहरु आज गर्व से कहो हम मधेशी छि भन्ने अवस्थामा पुगेका छन् ।

उपरोक्त विवरणले के देखाउँछ भने नेपाली समाजको आधार बदलिएको छ । राजनीतिक व्यवस्था बदलिएको छ, अब जनताको अवस्था बदल्न जरुरी भएको छ । जनताको अवस्था बदल्ने कुरा पनि माओवादी जनयुद्धकै अभियान थियो । विस्तृत शान्ति सम्झौतामा आर्थिक सामाजिक रुपान्तरणका लागि संघीय संरचना भनिएको कुरा बिर्सन चाहेर पनि बिर्सिदैन । नेपाली समाजको रुपान्तरण आर्थिक सामाजिक रुपान्तरण बिना सम्भव छैन भन्ने विश्वास माओवादी जनयुद्धको हो र सो विश्वासमा सहमति उक्त शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन सात दलीय गठबन्धनको सरकारको हो । त्यही विश्वासको जगमा नेपाली राजनीतिले काँचुली फेर्दैछ ।

राजनीतिक व्यवस्था बदल्यौं, जनताको अवस्था बदल्न बाँकी छ । त्यसका लागि पनि माओवादीकै खाँचो छ भन्ने कुरा पटक–पटकका परिवर्तनका उपलब्धि उल्टाउने हर्कत भएबाट बुझन सकिन्छ । संविधान सभाको चुनावको मिति तोक्न कति गाह्रो भयो भोग्नेहरुलाई थाहा छ । अन्तरिम संविधानमा मिति लेखेर पनि सो मितिमा चुनाव गराउन प्रतिगामीहरुले दिएनन् भन्ने कुरा अब भन्न गाह्रो छैन । चुनावको परिणाम स्वीकार्न कति गाह्रो भयो एक पटक स्मरण मात्रै गर्दा पुग्छ ।

पहिलो बैठकले गणतन्त्र घोषणा गर्ने अन्तरिम संविधानमा लेखिएको थियो त्यसैकारणले पहिलो बैठक बस्न कति कठीन भयो । पहिलो संविधान सभाबाट संविधान लेख्न किन दिइएन? राष्ट्रपतिको लोभ नदेखाएको भए गणतन्त्र र प्रधानमन्त्रीको लोभ नदेखाएको भए संविधान जारी गर्न असम्भव प्रायः नै थियो । जारी संविधान बमोजिम चुनाव नगराउने षड्यन्त्र गर्ने खड्कप्रसाद ओलीको हर्कतलाई परास्त गर्ने काम पनि माओवादीले नै गर्‍यो ।

गणतन्त्र, संघीयता, समावेशी/समानुपातिक र धर्मनिरपेक्ष आन्दोलनका उपलब्धिहरुलाई उल्टाउने हर्कत स्वरुप ट महिनाको अन्तरालमा दुई पटक संसद विघटन भएको थियो र त्यसका विरुद्ध माओवादी जमेर नलागेको भए अहिलेको चुनाव मात्रै हैन कहिल्यै चुनाव नगर्नेतिर देशलाई धकेलिएको थियो । त्यसैले राजनैतिक उपलब्धि हासिल गर्ने मात्रै हैन, प्राप्त उपलब्धि जोगाउने दायित्व र जिम्मेवारी पनि माओवादीको काँधमा नै छ ।

त्यसैले गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष र समावेशी, समानुपातिक प्रणाली जोगाउने र त्यसैको जगमा टेकेर थप सङ्घर्षका माध्यमबाटै आर्थिक, सामाजिक रुपान्तरण गर्ने अभियानको नेतृत्व गर्ने अभिभारा माओवादीकै जिम्मा इतिहासले सुम्पेको छ । माओवादी शक्ति कमजोर हुँदा जनताका हक अधिकार खोसिएका र माओवादी बलियो हुँदा जनताका हक अधिकार थपिएका विगतका उदाहरण ताजै छन् । तिनै विगतका ताजा उदाहरणलाई स्मरण गर्दै फेरि पनि एकपटक माओवादीलाई मजवुत बनाउन आ–आफ्नो क्षेत्रमा डटौं ।

माओवादी कमजोर हुनु भनेको जनाधिकार कमजोर हुनु हो । माओवादी शक्ति खस्कनु भनेको प्राप्त उपलब्धिहरू पनि खस्कनु हो– यो कुरा परिवर्तनविरोधी र प्रतिगामीहरुले राम्ररी बुझेका छन् । त्यही कुरा जनताले बुझ्नासाथ उनीहरुको षड्यन्त्र चकनाचुर हुनेछ । देश र जनताको उन्नति माओवादीको शक्तिमा टिकेको छ । देश र जनताको उन्नति माओवादी शक्तिको मजबुतीकरणमा निर्भर छ । त्यसैले देश र जनताको उन्नतिका लागि माओवादीलाई जिताउन लागौं । यसैमा देश र जनताको हित अन्तरनिहीत छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर