newskoseli.Com

विप्लव–प्रकाण्ड समूहका ‘स्वतन्त्र उम्मेदवार’ : को–को, कहाँ–कहाँ ? (पूर्ण विवरण)

नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड

माउ पार्टी ‘संसदीय दलदल’ मा फस्यो भन्दै माओवादी पार्टी विभाजन गरी गठन भएको नेकपा (क्रान्तिकारी माओवादी) लाई समेत फेरि विभाजन गरेर नेत्रविक्रम चन्दको नेतृत्वमा गठन गरिएको नेकपा फेरि पनि विभाजनको अन्तिम कसरतमा जुटेको छ । पछिल्लो केन्द्रीय समितिको बैठकमा स्थानीय चुनाव उपयोग गर्नुपर्ने महासचिव–प्रवक्ताको प्रस्ताव चरम अल्पमतमा परेपछि उक्त समूहको केन्द्रीय समितिले ‘चुनावमा भाग पनि नलिने र बहिष्कार पनि नगर्ने, बरू एमसीसीविरोधी र देशभक्त उम्मेदवारहरूलाई समर्थन गर्न सकिने’ निर्णय लिएको थियो ।

तर, महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ समूहले अत्यधिक बहुमतको पार्टी निर्णयलाई अवज्ञा गर्दै आइतबार र सोमबार विभिन्न स्थानीय तहमा केन्द्रीय सदस्यसहित विभिन्न तहका नेताहरुलाई नै ‘स्वतन्त्र उम्मेदवार’ उठाइदिएका छन् । विप्लव–प्रकाण्ड समूहको यस्तो ‘हर्कत’ पछि उक्त पार्टीका केन्द्रदेखि सेलसम्मका बहुमत नेता–कार्यकर्ता, सदस्य र समर्थक–शुभचिन्तकहरु आगो भएका छन् । अन्ततः विप्लव–प्रकाण्डहरुले पार्टी फुटाएरै छाडेको निष्कर्ष उनीहरुले निकालेका छन् ।

कहाँ–कहाँ को–को बने उम्मेदवार ?

रोल्पाका ६ पालिका अध्यक्षमा विप्लव–प्रकाण्ड समूहबाट उम्मेदवारी दर्ता भएको छ । गंगादेव गाउँपालिकामा चूडामणि वली, थबाङमा अमित घर्तीमगर, सुनीलस्मृतिमा कमल थापा, परिवर्तनमा लालबहादुर डाँगी, लुंग्रीमा भुपेन्द्र खड्का र सुनछहरीमा पुष्टमान घर्तीमगरले उम्मेदवारी दिएका छन् । वली केन्द्रीय सदस्य र अरु उम्मेदवार जिल्ला सदस्य हुन् ।

कपिलवस्तुको शिवराज नगरपालिकामा केन्द्रीय सदस्य भेषराज भुसालले प्रमुख पदका लागि उम्मेदवारी दिएका छन् । शिवराज– ९ को वडाध्यक्षमा मालबहादुर घर्तीमगरले उम्मेदवारी दिएका छन् । वडा सदस्यमा सुमित्राकुमारी घर्तीमगरको पनि उम्मेदवारी परेको छ । वाणगंगा नगरपालिका– ५ को वडा सदस्यमा ज्ञानेन्द्र पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

‘अन्य ठाउँमा पनि कार्यकर्ताले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका छन्,’ भुसालले भने– ‘जित्नैपर्छ भन्ने छैन; स्वतन्त्र, देशभक्त र इमानदारलाई सहयोग गरेर मुलुक बचाउने अभियान हो ।’ शिवराज नगरपालिका महासचिव विप्लवको गृहनगर समेत हो ।

प्रवक्ता प्रकाण्डको गृहजिल्ला कालीकोटका ९ वटै पालिकामा ‘स्वतन्त्र’ हैसियतमा उम्मेदवारी दर्ता गराइएको छ । यहाँका ४ वटा स्थानीय तहमा आइतबार उम्मेदवारी दर्ता गरेका विप्लव–प्रकाण्ड समूहका नेताहरूले सोमबार थप ४ वटा स्थानीय तहका सबैजसो पदमा उम्मेदवारी दिएका छन् ।

कालीकोटको नरहरिनाथ गाउँपालिका अध्यक्षमा केन्द्रीय सदस्य एटम बीसी र उपाध्यक्षमा कलशा विक, रास्कोट नगरपालिका प्रमुखमा संविधानसभा २०६४ की सदस्य धीरेन्द्राकुमारी उपाध्याय र उपप्रमुख फूलटौरा विक, पचालझरना गाउँपालिका अध्यक्षमा जिल्ला सचिव मनिलाल ऐडी र उपाध्यक्षमा विनीत तिरुवाले उम्मेदवारी दिएका छन् । सान्नीत्रिवेणीको अध्यक्षमा त झन् उक्त समूहकै रूपसिंह बोहरा र ब्यासी कामी गरी दुई जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, कालीकोटकै खाडाचक्रको प्रमुखमा हस्त विक र उपप्रमुखमा शारदा शाही, तिलागुफा नगर प्रमुखमा नरेन्द्र चदारा, उपप्रमुख धनराज शाही, महाबैको अध्यक्षमा धनबहादुर सिंह, पलाताको अध्यक्षमा पदमबहादुर विश्वकर्मा, शुभकालिकाको अध्यक्षमा मनीष विकलगायतले उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश वडाध्यक्ष र सदस्यमा पनि विप्लव–प्रकाण्ड समूहको उम्मेदवारी परेको छ ।

गुल्मीको धुर्कोट गाउँपालिकामा यो समूहले अध्यक्ष, उपाध्यक्ष, दुई वडा अध्यक्ष र एक वडा सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । अध्यक्षमा मैतबहादुर नेपाली र उपाध्यक्षमा तारा बस्नेतले उम्मेदवारी दिएका छन् । धुर्कोट– ३ को वडाध्यक्षमा बाबुलाल नेपाली, धुर्कोट– ६ को वडाध्यक्षमा चन्द्रबहादुर पाण्डे र धुर्कोट– ४ को वडा सदस्यमा लक्ष्मी पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

पाल्पाको तिनाउ गाउँपालिकामा पूर्वजिल्ला कमिटी सचिव भुवन जीसीले अध्यक्षमा ‘स्वतन्त्र’ उम्मेदवारी दर्ता गराएका छन् । विप्लव–प्रकाण्ड समूहले तिनाउ– २ मा टोपबहादुर विक, ३ मा नीरबहादुर विक, ४ मा मानबहादुर दर्लामीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

गोरखा नगरपालिकाको प्रमुखमा विप्लव–प्रकाण्ड समूहका योगेन्द्र कुमालले मनोनयन दर्ता गराएका छन् । उक्त समूहको पूर्वजिल्ला इन्चार्ज कुमाल हाल विशेष समिति सदस्य छन् । सोही समूहकी सेती–महाकाली ब्युरो सदस्य गौरा धामीले डडेलधुराको परशुराम नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएकी छन् ।

सर्लाहीको बाग्मती नगरपालिका प्रमुखमा धनकुमारी खड्का पौडेल उम्मेदवार बनेकी छन् । उनी प्रहरीको ‘इन्काउन्टर’ मा मारिएका कुमार पौडेलकी श्रीमती हुन् । आफ्नो पार्टीका नेता–कार्यकर्ताबाट स्वतन्त्र हैसियतमा करिव दुई दर्जन पालिकामा उम्मेदवारी परेको जानकारी आएको तर पूरा विवरण आउन बाँकी रहेको महासचिव विप्लवका स्वकीय सचिव असल क्षत्रीले जनाएका छन् ।

रोल्पाबाट काशीराम डाँगी, पाल्पाबाट माधव अर्याल, कालीकोटबाट तुलाराम पाण्डे, कपिलवस्तुबाट मनोज पौडेल र गुल्मीबाट गगनशीला खड्काको रिपोर्टसहित मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित समाचारमा आधारित

यो समाचार पनि पढ्नुहोस्–
विप्लव–प्रकाण्डलाई चुनौती दिँदै धर्मेन्द्रको विज्ञप्ति : उम्मेदवारी फिर्ता लिन अपिल (पूर्णपाठसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर