newskoseli.Com

विप्लव आफ्नै पार्टीबाट बर्खास्त, धर्मेन्द्र बने संयोजक

‘पार्टीको आधारभूत सिद्धान्त, नीति र निर्णयविरुद्ध लागेर क्रान्तिविरोधी, स्खलनकारी र विचलनकारी गतिविधिमा चुर्लुम्म डुबेको’ आरोप लगाउँदै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले उनलाई महासचिव पदबाट बर्खास्त गरिदिएको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई पनि उक्त पार्टीले पदमुक्त गरेको छ । बुधबार चितवनमा सुरू सो पार्टीको राष्ट्रिय भेलाले विप्लवलाई महासचिवबाट पदमुक्त गर्दै केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई पार्टीको केन्द्रीय संयोजक चयन गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले राष्ट्र, जनता र वर्गलाई धोका दिएको र सो पार्टीबाट विद्रोह गरी पुनर्गठित भएको मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टीले पनि क्रान्ति अघि बढाउन नसकेको भन्दै विप्लवले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेका थिए । अपरिभाषित, अमूर्त र रहस्यमयी ‘एकीकृत जनक्रान्ति’ मार्फत ‘वैज्ञानिक समाजवाद’ स्थापना गर्ने भन्दै केही वर्ष अन्योलग्रस्त राजनीति गरेका विप्लव अन्ततः आफ्नै पार्टीभित्र चर्को अल्पमतमा परेर कार्बाही भोग्दै पदमुक्त हुन बाध्य भएका छन् ।

खड्ग ओली नेतृत्वको आपराधिक चरित्रको प्रतिगमनकारी सरकारले झन्डै दुई वर्षसम्म लगाएको ‘प्रतिबन्ध’ झेल्दै २१ फागुन, २०७७ मा उनै ओलीसँग नांगो र भद्दा आत्मसमर्पण गरी तथाकथित तीनबुँदे सहमति गरेका विप्लवले घोषित–अघोषितरूपमा उनै ओलीसँग लगनगाँठो कसेका छन् । आफ्नै नीति र निर्णयका विरूद्ध मात्र नभई तुलनात्मकरूपले अग्रगामी र प्रगतिशील शक्तिहरूका विरूद्ध समेत घोर प्रतिक्रियावादी शक्तिहरुसँग गठजोड गरेर विप्लवले आफ्नो समूहलाई स्थानीय तहको चुनावमा सहभागी गराएका छन् ।

पार्टी निर्णय र नीतिविपरीत जोरजबर्जस्तै गर्दै निवर्तमान महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले आफू निकटका मान्छेहरूलाई देशका धेरै स्थानमा चुनावी मैदानमा उतारे  । त्यसपछि केन्द्रीय समितिसहित देशैभरका सदस्यको अत्यधिक बहुमतले साथ दिएका धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश वली ‘सुदर्शन’ नेतृत्वको पक्षले राष्ट्रिय भेला आयोजना गरी विप्लवलाई कारबाही गर्दै पदमुक्त गरेको हो ।विप्लवमाथिको कारबाहीका पक्षमा केन्द्रीय समितिका ६५ मध्ये ४० जनाभन्दा बढी सदस्यले सहमति जनाएको धर्मेन्द्र–हेमन्त पक्षका एक नेताले न्युजकोसेलीलाई बताएका छन् ।

यसअघि विप्लव, प्रकाण्ड र सन्तोष बुढामगर मात्रैको सल्लाहमा धर्मेन्द्र र हेमन्तलाई पदमुक्त गरिएको दावी विप्लवले गरेका थिए । बहुमत पक्षको निर्णय र कारबाहीलाई ‘खारेज’ गर्दै अल्पमत समूहले विप्लवकै नेतृत्वमा पार्टी पुनर्गठन गर्ने तयारी गरिरहेको सो पक्षका एक नेताको भनाइ छ । यसो हुनासाथ ‘विद्रोही’ नेकपा औपचारिकरुपमै दुई टुक्रामा विभाजित हुन पुग्ने देखिएको छ ।

यो भिडियो पनि हेर्नुहोस्–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर