newskoseli.Com

स्थानीय निर्वाचन २०७९ : परिणाम र प्रवृत्ति (कसले कति जिते, को–को कति स्थानमा अगाडि) ?

३० वैशाख, २०७९ मा सम्पन्न स्थानीय तहको मतगणना जारी छ । कतिपय पालिकाको गणना सकिएर अन्तिम नतिजा घोषित भइसकेको छ भने कतिपय पालिकामा मतगणना चलिरहेकै छ । यी पंक्ति लेखिँदासम्म (आइतबार अपराह्नसम्म) नेपाली कांग्रेसले ९ स्थानीय तहको प्रमुख र १० उपप्रमुख जितेको छ भने गणना जारी रहेका २४८ प्रमुख र २२८ उपप्रमुख पदमा अग्रता कायम गरिरहेको छ ।

दोस्रो स्थान सुरक्षित गर्ने गरी अघि बढिरहेको एमालेले १० तहको प्रमुख र ८ तहको उपप्रमुख जितिसकेको छ भने गणना जारी रहेका १९५ प्रमुख तथा १८२ उपप्रमुख पदमा अग्रता कायम गरेको छ । त्यसैगरी, तेस्रो स्थान सुरक्षित गरिरहेको माओवादी केन्द्रले हालसम्म ३ प्रमुख र ३ उपप्रमुख जितिसकेको छ भने गणना जारी रहेका ११४ प्रमुख र ११९ उपप्रमुख पदमा अग्रता हासिल गरेको छ ।

त्यस्तै, चौथो स्थानमा रहेको जसपाले गणना जारी रहेका ३० प्रमुख र ३२ उपप्रमुख पदमा अग्रता हासिल गरिरहेको छ । सो पार्टीले हालसम्म कुनै पनि पालिकामा प्रमुख–उपप्रमुख पदमा विजय हासिल गरिसकेको छैन । एमालेबाट विभाजित एकीकृत समाजवादीले २ प्रमुख र २ उपप्रमुख पदमा विजय हासिल गरेको छ भने गणना जारी रहेका १५ प्रमुख तथा १८ उपप्रमुख पदमा अग्रता हासिल गरिरहेको छ ।

०००     ०००    ०००     ०००     ०००    ०००

वर्तमान संविधान लागू भएयता र संघीयता कार्यान्वयनपछिको यो दोस्रो स्थानीय निर्वाचन हो । यसअघि २०७४ मा पहिलो पटक भएको स्थानीय चुनाव तीन चरणमा सम्पन्न गरिएको थियो । यसपालि भने देशभर एकै चरणमा चुनाव गराइएको छ ।

मुलुकका ७५३ स्थानीय तहमध्ये अधिकांशमा चुनाव सम्पन्न भइसकेको छ भने विवाद र झडपका कारण दर्जनौं स्थानको चुनाव स्थगित पनि भएको छ । हालसम्म नतिजा आइसकेका र गणनाको क्रममा अग्रस्थानमा देखिएका उम्मेदवारहरुको संख्याले यसपालिको चुनावले दिने मूलभूत परिणामको मोटामोटी खाका देखाइसकेको छ ।

प्रवृत्तिगत हिसाबले भन्नुपर्दा यसपालिको चुनावमा गठबन्धनको आंशिक प्रभाव परेको छ । कतिपय स्थानमा भने गठबन्धनले नराम्ररी हावा खाएको पनि देखिएको छ । गठबन्धनका उम्मेदवारहरुले पाएको मत हेर्दा तुलनात्मकरुपले माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनप्रति इमानदार देखिएका छन् भने नेपाली कांग्रेसका तर्फबाट गठबन्धनप्रति धेरै पालिकामा ‘घात’ भएको देखिएको छ ।

परिणामगत हिसाबले भन्नुपर्दा यसअघि स्थानीय तहमा मूलभूतरुपले एमालेको वर्चश्व रहेकोमा अब त्यो वर्चश्व कांग्रेसमा सर्ने पक्कापक्की देखिइसकेको छ । यसअघि स्थानीय तहमा पहिलो दल रहेको एमाले दोस्रोमा झर्ने र दोस्रो दलका रुपमा रहेको नेपाली कांग्रेस पहिलोमा उक्लने सुनिश्चित देखिइसकेको छ । अघिल्लो स्थानीय चुनावबाट तेस्रो दलको स्थान हासिल गरेको माओवादी केन्द्र अब पनि तेस्रोमै रहने निश्चित भइसकेको छ ।

पहिलो, दोस्रो र तेस्रो दलका साथ यसअघि रहेका पालिकाको संख्यामा थोरै तलमाथि पर्नु स्वाभाविक नै हो । यद्यपि मसिनो गरी ठ्याक्कै क–कसले कति–कति स्थानमा विजय हासिल गर्नेछन् भन्ने टुंगोका लागि त स्थागित चुनाव पनि सकिएर अन्तिम नतिजा घोषणा नहोउन्जेल प्रतिक्षा गर्नैपर्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर