newskoseli.Com

एमालेको ‘अफर’ मा तत्काल प्रधानमन्त्री बन्दैछन् प्रचण्ड ?

३० जेठमा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम सकिइसकेको छैन । यद्यपि यो निर्वाचनबाट नेपाली कांग्रेस पहिलो दल बनेको छ भने दोस्रोमा एमाले र तेस्रोमा माओवादी केन्द्र रहने पक्कापक्की भइसकेको छ ।

स्थानीय चुनावको पूरै परिणाम आइनसक्दै प्रतिपक्षी एमालेको होसहवास उडिसकेको छ । एमालेले सत्ता गठबन्धन भत्कन लागिसकेको प्रचारबाजी तेज पार्न थालेको छ । एमालेले यसपटक ६ वटै महानगर गुमाउने पक्कापक्की देखिइसकेको छ । उपमहानगर, नगरपालिका र गाउँपालिका सबैतिर गरी एमाले अघिल्लो चुनावको तुलनामा आधाभन्दा बढी पकड गुमाउन विवश भएको छ ।

यो निर्वाचन परिणामबाट माओवादी केन्द्र स्वभावतः उत्साही नै छ । ०७४ मा सम्पन्न चुनावको तुलनामा निकै सुधार ल्याएर राष्ट्रिय सत्ता राजनीतिमा निर्णायक शक्तिकै रुमा माओवादी केन्द्र स्थापित हुन पुगेको छ । एकीकृत समाजवादी र जनता समाजवादीका कतिपय नेताहरुले भने स्थानीय चुनावका बेला कांग्रेस र माओवादी केन्द्रले गठबन्धनप्रति इमानदारिता नदेखाएको गुनासो गरेका छन् ।

संवैधानिक प्रावधानअनुसार यही वर्षको अन्त्यसम्ममा प्रदेशसभा र प्रतिनिधिसभाको समेत निर्वाचन गरिसक्नु पर्ने स्थिति छ । यथासम्भव मंसिर आसपासमा एकैसाथ दुवै चुनाव गर्ने गरी सरकार र दलहरूले तयारी गरिरहेका छन् ।

अहिलेकै पाँचदलीय गठबन्धनका साथ संघ र प्रदेशको चुनावमा होमिनु परेमा त्यो एमालेका लागि निकै महँगो सावित हुने निश्चित छ । बाहिर जेसुकै ध्वाँस दिइरहे तापनि यो सम्भावनाका कारण एमालेको होसहवास उडिरहेको छ । त्यसैकारण गठबन्धन फुटाइदिने उद्देश्यकै निम्ति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल प्रधानमन्त्री बन्न एमाले शीर्ष नेतृत्व तहबाट ‘अफर’ आएको उच्च राजनीतिक स्रोतहरूको दावी छ । प्रचण्डले भने आफू प्रधानमन्त्री बन्नकै लागि अहिलेको गठबन्धन नतोड्ने स्पष्ट जवाफ एमाले नेतृत्वलाई पठाइदिएका छन् ।

पाँचदलीय गठबन्धन भत्काउन षड्यन्त्र भइरहेको पनि टिप्पणी प्रचण्डले गर्ने गरेका छन् । एमालेको व्यापक चलखेल देखेर नै कांग्रेसका शीर्ष नेताहरुले स्थानीय चुनावअघि समेत प्रचण्डसँग यो गठबन्धन अरू दुईवटा चुनावसम्म् कायम रहन्छ कि रहँदैन र कतै कांग्रेसलाई धोका पो हुन्छ कि भन्दै जिज्ञासा समेत राखेका थिए ।

प्रदेशसभा–प्रतिनिधिसभाको चुनाव गराउने गरी प्रधानमन्त्री बन्न प्रचण्डलाई एमाले नेतृत्वले ‘अफर’ गरे पनि उनी भने त्यस्तो प्रस्ताव स्वीकारेर गठबन्धन तोड्ने पक्षमा पटक्कै देखिएका छैनन् । शेरबहादुर देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न हुने भनाइ प्रचण्डले बारम्बार सार्वजनिक गर्दै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर