newskoseli.Com

प्रचण्ड–माधव–झलनाथ–वामदेवबीच तत्काल एकता हुँदै ?

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ‘हाइकमाण्ड’ का रुपमा रहेको केन्द्रीय सचिवालयका बहुमत (९ जनामध्येका पाँच जना) नेताहरुको संयुक्त तस्बिर केही दिनअघि बाहिरियो । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतमको ‘क्लोज सट’ तस्बिर बाहिरिएसँगै नेपाली राजनीतिक रंगमञ्चमा अनेक टीका–टिप्पणी सुरु भए ।

वैशाख अन्तिममा सम्पन्न स्थानीय तहको चुनावमार्फत यसअघिको पहिलो दल एमाले निकै तल झरेर दोस्रो दलमा खुम्चन पुग्यो भने यसअघि निकै होचो कदमा सीमित भएको नेपाली कांग्रेस एमालेभन्दा धेरै अग्लो बनेर पहिलो दलका रुपमा उभियो । यसखाले राजनीतिक परिदृश्यसँगै एमाले तिल्मिलाउन पुग्यो र फेरि पनि माओवादी केन्द्रसँग एकता वा गठबन्धन गर्नुपर्ने निष्कर्षका साथ अनेकौं च्यानलबाट र विभिन्न बहाना एवं लेनदेनका विभिन्न प्रस्ताव लिएर घोषित–गुप्त ढंगले पहल अघि बढाउन थाल्यो ।

एमालेको यस्ता पहलसँगै एकातिर नेपाली कांग्रेसमा गहिरो झस्का पसेको छ भने अर्कातिर आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावअघि नै एमाले–माओवादी केन्द्रबीच फेरि पनि एकता वा गठबन्धन हुन सक्ने तर्क–वितर्क गरिन थालेको छ । माओवादी केन्द्रका नेता–कार्यकर्ताले तत्कालै एमालेसँग एकता वा गठबन्धन गर्नेतर्फ कुनै रुचि र सम्भावना देखाएका छैनन् तर एमालेतिरका नेता–कार्यकर्ताहरुले भने चुनावअघि नै वर्तमान सत्ता–गठबन्धन टुट्ने बारम्बार ठोकुवा गर्दै ‘वाम गठबन्धन’ या ‘वाम एकता’ अपरिहार्य भएको चर्चा तेज पारेका छन् ।

ठीक यही माहोलका बीच तत्कालीन नेकपामा ‘प्रभावशाली’ र ‘निर्णायक’ भनिएका वामदेव गौतमको सक्रियता एकाएक बढेको छ । सधैं ‘वाम एकता’ को रटान लगाउने तर जहिल्यै आफ्नो स्वार्थका खातिर चरम अविश्वसनीय भूमिका निभाउने वामदेवले फेरि पनि ‘कम्युनिस्ट एकता’ को विकल्प नरहेको भन्दै आफू नेतृत्वको ‘नेकपा एकता राष्ट्रिय अभियान’ लाई राजनीतिक दलमा बदलेर नेताहरुसँगको दौडधुपलाई तेज पारेका छन् ।

वामदेवले एमाले अध्यक्ष खड्ग ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरिसकेका छन् । यी भेटलगत्तै प्रचण्ड, माधव, झलनाथ, नारायणकाजी र वामदेवसँग संयुक्त भेटघाट र छलफल समेत भइसकेको छ ।

यो भेटपछि तत्काल एमालेसँग एकता सम्भव नभए पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र वामदेवको समूहसँग भने चुनावअघि नै एकता हुनुपर्ने प्रस्ताव र पहल अघि बढेको जानकारी विभिन्न स्रोतहरुले न्युजकोसेलीलाई दिएका छन् । सोमबार बसको एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष माधवकुमार नेपालले त्यसको पुष्टि गरिदिएका छन् ।

‘पार्टी एकताका लागि आएको प्रस्तावबारे अध्यक्षले सामान्य ब्रिफिङ गर्नुभयो,’ बैठकमा अध्यक्ष नेपालले भनेका कुराको पुष्टि गर्दै एकीकृत समाजवादीका सचिवालय सदस्य प्रकाश ज्वालाले सञ्चार माध्यमलाई भनेका छन्– ‘पार्टी एकताको प्रस्ताव सकारात्मक हो तर यसमा अहिले नै निर्णयमा पुग्न सकिँदैन, पार्टीभित्र व्यापक छलफल गर्नुपर्छ ।’

यही कुराको पुष्टि माओवादी केन्द्रको राजधानीमा जारी आइतबार र सोमबारको केन्द्रीय समितिको बैठकमा प्रचण्डले पनि गरेका छन् । दुवै पार्टी एकताउन्मुख र त्यसप्रति सकारात्मक नै देखिएका भए पनि तत्कालै एकता प्रक्रिया भने अगाडि बढिहाल्ने कुनै संकेत देखा परिसकेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर