newskoseli.Com

प्रचण्ड–बाबुराम सघन छलफल : गठबन्धन र मोर्चाबन्दी हुँदै एकतातर्फ

दसवर्षे ऐतिहासिक जनयुद्धको संयुक्त नेतृत्व गरी शान्ति प्रक्रिया पूरा गरेर नयाँ संविधान समेत जारी गरेसँगै केही वर्ष अघिदेखि अलग–अलग बाटो तताएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी नेपाल (जसपा) को संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच क्रमशः तत्कालीन सहकार्य, गठबन्धन र मोर्चाबन्दी हुँदै अन्ततः एकतामा जुट्ने गरी छलफल अघि बढेको छ ।

जसपाको ‘कारबाही’ मा परेका भनिएका संघीय परिषद् अध्यक्ष भट्टराईसँग माओवादी अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनबाट तत्काल नअलग्गिन आग्रह गरेका छन् । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई शीर्ष नेताबीच मंगलबार भएको छलफलका क्रममा प्रचण्डले भट्टराईसँग त्यस्तो आग्रह गरेका हुन् ।

नयाँ पार्टी बनाउने गृहकार्यमा रहेका भट्टराईसँग प्रचण्डले गठबन्धनबारे जिज्ञासा राख्दा वर्तमान गठबन्धनबाट अलग्गिने विषयमा आफूहरुले नसोचेको जवाफ भट्टराईले दिएको स्रोतको भनाइ छ । जसपामै रहे पनि वा नयाँ पार्टी गठन गरे पनि वर्तमान गठबन्धनबाट अलग्गिनु नुहुने आग्रह प्रचण्डले भट्टराईसँग गरेका हुन् ।

भर्खरै सम्पन्न आफ्नो भारत भ्रमणका सम्बन्धमा पनि प्रचण्डले बाबुरामलाई जानकारी गराएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जनाएका छन् । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभामा चुनावी गठबन्धन गर्ने तथा समाजवादी केन्द्र गठन गरी मोर्चाबन्दी र सहकार्यको वातावरण तयार पार्ने विषयमा समेत दुई नेताबीच छलफल भएको छ ।

समाजवादी केन्द्रको गठन प्रक्रिया छिट्टै आगाडि बढाउन तथा त्यसका लागि थप छलफलहरु निरन्तर अघि बढाउन दुई नेता सहमत भएका छन् । गठबन्धन, सहकार्य र मोर्चाबन्दी गर्दै अघि बढ्ने क्रममा एकतासम्म पुग्न सकिनेमा सहमत भए तापनि तत्कालै एकता गरिहाल्न भने छलफलका क्रममा बाबुराम तयार देखिइनसकेको को बताइएको छ ।​

माओवादी केन्द्रका प्रायः नेताहरू र बाबुराम निकटस्थ जसपाका नेताहरू भने तत्कालै माओवादी केन्द्रसँग सहकार्य अघि बढाएर यथासिघ्र एकता नै गर्नुपर्ने गरी दबाब बढाउन थालेका छन् । नयाँ वैकल्पिक पार्टी बनाएर जान सक्ने अवस्था नदेखिएको भन्दै माओवादी केन्द्रसँगै मिलेर जानु उत्तम हुने बाबुराम निकटस्थ अधिकांश नेताहरूको सुझाव छ ।

बाबुराम भने तत्कालका लागि बेग्लै पार्टी गठन गर्ने अनि माओवादी केन्द्रसहित विचार मिल्ने अरू पार्टीहरूसँग ‘समाजवादी केन्द्र’ बनाएर मोर्चाबन्दी गर्नुपर्ने तर्क गरिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्डले भने विनाहिच्किचाहट माओवादी केन्द्रसँगै एकता गरेर बलियो शक्तिका रूपमा तत्कालै अघि बढ्न बाबुरामसँग आग्रह गरिरहेका छन् ।

यसअघि पटक–पटक उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा भएका छलफल र मंगलबारको भेटघाटमा समेत प्रचण्डले भने आगामी चुनावमा एउटै चुनाव चिह्नका साथ तालमेल गर्दै अघि बढ्न र चुनावपछि एकताबद्ध भएर सहकार्यमा जुट्न बाबुरामसँग निरन्तर आग्रह गरिरहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर