newskoseli.Com

झिसमिसेमै शक्तिशाली भूकम्प : ६ को मृत्यु, ५ घाइते, थप विवरण आउँदै

डोटी केन्द्रविन्दु भएर बुधबार बिहान झिसमिसेमै अर्थात् मङ्गगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ​ । सोही भूकम्पमा परी पाँच जना घाइते भएको विवरण प्राप्त भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ३, गैरागाउँमा केही घर भत्किँदा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिएका छन् ।

पूर्वीचौकी गाउँपालिका– ३, ठाँडागाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको हो । एकै घरका ३ सहित ६ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । स्थानीय शिक्षक मिनराज ओझाले जनाएअनुसार भूकम्पले स्थानीय अधिकांशको घरमा क्षति पुर्याएको छ ।

भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रका ठाउँ–ठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिएका छन् । त्यसअघि पनि राति ९ बजेर ७ मिनेटमा पनि दिपायल केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक–पटक झड्का महसुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।

बझाङमा पनि भूकम्पको धक्कापछि स्थानीयवासी खुला ठाउँमा रातभर जाग्राम बसे । मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासि भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयवासीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर