newskoseli.Com

६० वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदै, २ वटामा रोकियो (कार्यक्रम तालिकासहित)

त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका ६२ आंगिक क्याम्पमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी भएको छ । यीमध्ये कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र लमजुङस्थित कृषि क्याम्पसमा भने निर्वाचन प्रक्रिया रोकिएको छ ।

विद्यार्थी संगठनबीच निरन्तर झडप भएकाले लमजुङ कृषि क्याम्पसमा निर्वाचन कार्यक्रम स्थगित भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव एवं त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्रा. पशुपति अधिकारीले जानकारी दिएका छन् । आयुर्वेद क्याम्पमा तालाबन्दी भएकाले हालका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको उनको भनाइ छ । स्थगित भएका क्याम्पसहरुमा ३० दिनभित्रमा पुनः निर्वाचन गराइसक्नुपर्ने व्यवस्था छ ।

त्रिविले कुलपति एवं प्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग स्ववियु निर्वाचनबारे केही दिनअघि छलफल गरेको थियो । प्रम दाहालको पछिल्लो निर्देशनअनुसार निर्वाचनलाई पूर्ण रूपमा अघि बढाउन त्रिविले सबै क्याम्पसलाई निर्देशन दिएको थियो । गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री प्रचण्डले कुनै पनि अवस्थामा निर्वाचन गराउन निर्देशन दिएपछि त्रिविले ढुक्क भएर निर्वाचन प्रक्रिया अघि बढाउन सबै क्याम्पसलाई पत्रचार गरेको थियो ।

प्रक्रिया सुरू भएको पहिलो दिन शुक्रबार उपत्यकामा २१ वटा आङ्गिक क्याम्पसमा संगठन दर्ता भएका छन् । निर्देशक अधिकारीका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा १९, चिकित्सा शिक्षा अध्ययन संस्थान महाराजगञ्जमा ८, पुल्चोक इन्जिनियरिङमा ७, नेपाल ल क्याम्पसमा १७, पद्मकन्या बहुमुखी क्याम्पसमा ११, शङ्करदेव क्याम्पसमा १२, त्रिचन्द्र बहुमुखी क्याम्पसमा २४, रत्नराज्यलक्ष्मी क्याम्पसमा १७, नेपाल कमर्स क्याम्पसमा १६ र अमृत साइन्स क्याम्पसमा १४ वटा संगठन दर्ता भएका छन् ।

त्यसैगरी सरस्वती बहुमुखीमा ८, थापाथली क्याम्पसमा ५, नेपाल कमर्स क्याम्पसमा १६, पब्लिक युथमा १०, नर्सिङ क्याम्पस महाराजगञ्जमा ८, सानोठिमी र भक्तपुर बहुमुखी क्याम्पसमा ७–७ वटा संगठन दर्ता भएका छन् । कार्यतालिकाअनुसार आइतबार मतदाता सूची प्रकाशन र २५ गते मतदाता सूचीमा दाबी विरोध तोकिएको छ ।

त्यस्तै, २६ फागुनमा उम्मेदवारको मनोनयनपत्र वितरण र २७ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी नामावली दाखिला गर्ने कार्यक्रम छ । सोही दिन ५ बजे प्रत्यक्षतर्फका उम्मेदवारको नामावली प्रकाशन, २८ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध र सोही दिन साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर