newskoseli.Com

उपप्रधानमन्त्री श्रेष्ठ–अमेरिकी राजदूत भेटवार्ता

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच ‘शिष्टाचार भेटवार्ता’ भएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदान सम्बन्धमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

भेटवार्ताका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको भन्दै नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यस कार्यका लागि सहयोगको अपेक्षा गरिएको बताए । संक्रमणकालीन न्यायसम्बन्धी कामहरू सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि संसदमा विधेयक पेस भैसकेको समेत उपप्रधानमन्त्री श्रेष्ठले राजदूत थम्पसनलाई जानकारी गराए ।

राजदूत थम्पसनले नेपालको शान्ति प्रक्रियाले पूर्णता पाएको अमेरिकाले देख्न चाहेको बताउँदै यसको सहजीकरणका लागि आफू र आफ्ना कूटनीटिक साझेदारहरूसँग मिलेर पहल लिने बताए । राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदूत थम्पसनले चासो लिएकामा उपप्रधानमन्त्री श्रेष्ठले धन्यवाद दिए ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेको बताउँदै यसले विकास निर्माणलाई प्रभावित नपार्ने उपप्रधानमन्त्ती श्रेष्ठले बताए । राजदूत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने जानकारी गराए ।

कोभिडपछि अमेरिकी सहयोग संस्था ‘पिसकोर’ को काम प्रभावित भएको भन्दै ‘पिसकोर’ कार्यकर्ताको भिसा सहजीकरणका लागि राजदूत थम्पसनले उपप्रधानमन्त्री श्रेष्ठसँग आग्रह गरे । उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने बताए ।

नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षाका सम्बन्धमा समेत राजदूत थम्पसनले चासो राखे । तिनको पूर्ण सुरक्षामा ढुक्क रहन उपप्रधानमन्त्री श्रेष्ठले राजदूत थम्पसनसँग आग्रह गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर