newskoseli.Com

भदौ २७ देखि पाठेघरको क्यान्सरविरुद्ध खोप लगाइँदै

सरकारले ‘परीक्षण परियोजना’ का रूपमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सुरु गर्ने भएको छ । भदौ २७ देखि देशका सातै प्रदेशस्थित ठूला सरकारी अस्पतालबाट पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइने भएको छ ।

दुई महिनाअघि चीनबाट २० हजार भाइल खोप ल्याइएको थियो । सातवटा अस्पतालमा १४ वर्षका किशोरीलाई ती खोप लगाइने छ । २०६५ भदौ २० देखि २०६६ भदौ २० सम्म जन्मेका किशोरीलाई एचपीभी खोप दिइने जानकारी परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले दिए । पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप रकम भएर पनि किन्न सक्ने अवस्थामा सरकार नरहेको भन्दै नेपाललाई खोप सहयोग गर्दै आएको गाभीलाई थप खोपका लागि आग्रह गरिएको उनले बताए ।

सन् २०२४ सम्ममा लक्षित वर्गसम्म खोप पुर्याइसकिने जानकारी दिँदै त्यसका लागि सरकार क्रियाशील रहेको उनले बताए । पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको जानकारी दिँदै सिकोलिन ब्रान्ड नेममा उत्पादित एचपीभी खोप विश्व स्वास्थ्य सङ्गठनले समेत मान्यता प्रदान गरेको खोप भएकाले ढुक्क भएर लगाउन खोप शाखा प्रमुख डा. अभियान गौतमले आग्रह गरे ।

उक्त खोप लगाउने स्थान कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा, मधेश प्रदेशको नारायणी अस्पताल वीरगञ्जमा, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल काठमाडौंमा, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा, लुम्बिनी प्रदेशको भेरी अस्पताल नेपालगञ्जमा, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको डडेलधुरा अस्पतालमा तोकिएको जानकारी उनले दिए ।

भदौ २७ मा स्वास्थ्यमन्त्री मोहन बस्नेतले थापाथलीस्थित प्रसूतिगृह अस्पतालबाट खोपको शुभारम्भ गर्ने भएका छन् । कोशी अस्पतालमा भदौ २७, नारायणीमा भदौ २९, प्रसूतिगृहमा भदौ २७, गण्डकीमा भदौ २७, भेरी अस्पतालमा भदौ २७, डडेलधुरा अस्पतालमा भदौ २७ र सुर्खेत अस्पतालमा भदौ २७ देखि खोप लगाइने भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर