newskoseli.Com

एनआरएनए अध्यक्ष आरके शर्मासहित पदाधिकारीद्वारा पदबहाली (भिडियोसहित)

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष राजेन्द्रकुमार (आरके) शर्मासहित उनको टीमका पदाधिकारीले राजधानीको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पदबहाली गरेका छन् । सोमबार केन्द्रीय कार्यालयमा पुगेर शर्मासहितका पदाधिकारीले पदबहाली गरेका हुन् ।

एनआरएनए अध्यक्ष शर्मासहित उपाध्यक्ष गंगाधर गौतम, महासचिव बुद्धिसागर सुवेदी, सचिव लोक दाहाल, कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, युरोप संयोजक चिन्तामणि सापकोटालगायतले पदबहाली गरेका हुन् । पदबहाली कार्यक्रममा एनआरएनएका पूर्वउपाध्यक्ष नारायण आचार्यसहितका अभियन्ता उपस्थित थिए ।

पदबहालीपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एनआरएनए अध्यक्ष शर्माले एनआरएनएको केन्द्रीय कार्यालय विदेशमा बस्ने नेपालीले १० डलर बचत गरेर बनाएको भन्दै यो कसैको एकलौटी स्वामित्व र योगदानको सम्पत्ति नभएको बताए । ‘एनआरएनएको निर्वाचन त्रुटिपूर्ण रहेको आयोगले स्वीकार गरिसकेपछि एकपक्षीय रूपमा लुकेर शपथग्रहण गरी संस्था कब्जा गर्ने नियत एउटा पक्षले राखेको देखियो,’ पदबहालीपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै शर्माले भने– ‘हामीले कामको आधारमा गैरआवासीय नेपाली अभियानलाई अगाडि बढाउने छौं ।’

निर्वाचन प्रणालीमा समस्या देखिएपछि आफूहरू पुनर्निर्वाचनको पक्षमा रहेको तर अर्को पक्षले नमानेका कारण अहिलेको परिस्थिति उत्पन्न भएको टिप्पणी शर्माले गरे । दुई वर्ष अगाडि अर्को एनआरएन खोलेका विनोद कुँवर नेतृत्व समितिसँग एकीकरण गरेर बलियो र एकताबद्ध एनआरएन बनाइने शर्माले बताए ।

‘गैरआवासीय नेपाली अभियानमा विदेशमा बस्ने सबै नेपालीलाई जोड्नु छ,’ शर्माले थपे– ‘विज्ञहरू, अर्थविद् सबैको रोस्टर बनाउनेछौं, अभियानलाई देशको आर्थिक विकासमा जोड्ने छौं ।’ आफूले नवमीका दिन कार्यालय आएर पदबहाली गर्नुपर्दा बिदाको समय भएकादृ कार्यकक्ष नखुलेको भन्दै दशैं बिदापछि केन्द्रीय कार्यालयबाट नियमित काम गर्ने जानकारी शर्माले दिए ।

शनिबार सम्पन्न एनआरएनए विश्व सम्मेलनले शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो । शर्मा नेतृत्वको कार्यसमितिले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा. प्रकाशरण महत र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको थियो ।

भेटमा प्रधानमन्त्रीसहितका नेताहरुले शर्मा नेतृत्वको कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको कामना गरेका थिए । शर्मा नेतृत्वको नयाँ कार्यसमितिसँग सहकार्य गरेर अगाडि बढ्न आफूहरू तयार रहेको सन्देश प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरूले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर