newskoseli.Com

जाजरकोटमा भूकम्प : १२८ को मृत्यु– जाजरकोटमा ९२ र रुकुममा ३६

शुक्रबार मध्यराति जाजरकोटमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पले जाजरकोट र रूकुम पश्चिममा व्यापक क्षति पुर्‍याएको जानकारी प्राप्त भएको छ ।

भूकम्पका कारण जाजरकोटमा ९२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो । ज्यान गुमाउनेहरूमा भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका नागरिक रहेका छन् ।

उक्त भूकम्पमा परी कम्तिमा ५५ जना घाइते भएको विवरण प्राप्त भएको डीएसपी रोकाले जानकारी दिएका छन् । घाइतेहरूमध्ये ५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा उपचार भइरहेको छ ।

जाजरकोटको छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । भूकम्पका कारण रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् । तीमध्ये ९ जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ । बाँकी घाइतेहरूको जिल्ला अस्पताल र चौरजहारी अस्पतालका साथै विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

भूकम्पपीडितलाई सान्त्वना दिँदै उद्धार र राहतकार्य तीव्र पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड करिव दुई दर्जन स्वास्थ्यकर्मीको टोली लिएर बिहानै जाजरकोट पुगिसकेका छन् । सेना, जनपद र सशस्त्र प्रहरी गरी तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको जाजरकोट र रुकुम पश्चिमका सुरक्षा प्रमुखहरूले जनाएका छन् ।

भूकम्पका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत कालेखोलामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । दुई ठाउँमा पहिरो गएकाले रुकुम पश्चिमको आठबीसकोट जाने सडक पनि अवरुद्ध छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर