newskoseli.Com

मुलुक वृद्धाश्रम बन्ने खतरा : उपप्रधानमन्त्री श्रेष्ठ

सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँग शनिबार भएको भेटमा भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने उल्लेख गर्दै उनले सो कुरा बताएका हुन् ।

देश राष्ट्रियताका दृष्टिले गम्भीर अवस्थामा रहेको चर्चा गर्दै व्यवस्थाविरुद्ध नै उठेका आवाजविरुद्ध सचेत हुनु आवश्यक रहेको समेत उनले बताए । ‘व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा ठूलो भिन्नता आउन सकेको छैन, विकास निर्माणले अपेक्षित गति लिन नसकेकाले जनतामा निराशा छाएको छ,’ उनले भने– ‘सामाजिक न्यायको क्षेत्रमा प्रभावकारी काम गरेर त्यसको अनुभूति जनताले गर्ने अवस्था हामीले निर्माण गर्न सक्नुपर्छ ।’

युवाहरू विदेसिने र उतै पलायन हुने क्रम बढेकाले देश वृद्धाश्रम बन्ने खतरा रहेको उल्लेख गर्दै रेमिट्यान्स आयो भनेर खुसी हुने अवस्था नरहेको उनले बताए । युवाहरू दुर्व्यसनको सिकार हुने क्रम बढेकाले सरकारले अब देशैभर हरेक पालिकामा रिह्याब सेन्टर खोल्ने अभियान चलाउने तयारी गरेको समेत उनले उल्लेख गरे ।

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार प्रयत्नशील रहेको भन्दै पीडितलाई न्याय हुने गरी नै टीआरसी विधेयक पास गरिने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर