
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्राध्यापक प्रबलराज पोखरेल नियुक्त भएका छन् । यसअघिका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी वैशाख २३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि पोखरेललाई विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. केशरजङ्ग बरालले विभागीय प्रमुखमा नियुक्त गरेको विश्वविद्यालयले जनाएको छ ।
सोह्र वर्षअघि पनि सोही विभागको प्रमुख रहिसकेका प्राध्यापक पोखरेल लामो समयदेखि पत्रकारिता अध्यापनरत छन् । प्राध्यापक पोखरेलले विभागीय प्रमुखमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै राज्यको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रको प्रवर्द्धन, प्राज्ञिक उन्नयन र अध्ययन–अनुसन्धानका साथै प्राविधिक तथा मानवीय स्रोत–साधनमा राज्यको लगानी वृद्धि हुनुपर्नेमा जोड दिए ।