मन्थली अस्पतालको नवनिर्मित पन्ध्र शैय्याको भवन मन्थली नगरपालिकालाई हस्तान्तरण गरिएको छ । नगर अस्पतालको दुईतले भवन सघन सहरी तथा भवन निर्माण आयोजना मन्थलीका प्रमुख सुमन सालिकेले मन्थली नगरप्रमुख लव श्रेष्ठलाई बुधबार हस्तान्तरण गरेका हुन् ।
१० करोड १३ लाख रुपैयाँको लागतमा निर्मित उक्त भवन भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको हो । सो भवन मन्थली नगरका प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशव धामी तथा निर्माण व्यवसायी सजन श्रेष्ठको रोहवरमा सालिकेले श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
यो भवन बनेपछि अब अस्पताल सञ्चालन र व्यवस्थापन गर्न पालिकालाई सहज भएको नगरप्रमुख श्रेष्ठले बताए । नयाँ भवन भएपछि अब आफूहरु अस्पतालको सेवा विस्तार गर्ने सोचमा रहेको समेत उनले बताए ।
मन्थली अस्पताललाई प्रदेश अस्पतालका रूपमा विस्तार गर्ने नगरको योजना रहेको उनले उल्लेख गरे । नगरपालिकाले साझेदारी गर्ने गरी मन्थली अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नतिका निम्ति मेयर श्रेष्ठले यसअघि नै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरसमक्ष अनुरोध गरिसकेका छन् । यस सम्बन्धमा प्रदेश सरकारका तर्फबाट कुनै पहल भने भइसकेको छैन ।