newskoseli.Com

होस गर्नोस्, तपाईंको घर पनि जाला है बाटो विस्तारमा !

मीनभवन, शङ्खमूल क्षेत्रमा सडक बिस्तारका क्रममा मिलोमतो गरी सार्वजनिक बाटोलाई एकतर्फी पार्दै सर्वसाधारणको निजी जग्गा अतिक्रमण गर्ने कर्मचारी र ठेकेदारको समूह अन्ततः पराजित भएको छ ।

गत वर्ष जेठ २४ गते शङ्खमूल श्रीनगर टोलबाट मीनभवन–नयाँबानेश्वर छिचोल्ने सडक योजना कार्यान्वयन गर्दा टोल सुधार समितिका ठेकेदार र नगर विकासका कर्मचारी समेतको मिलेमतोमा ग्यालेक्सी पब्लिक स्कुलकी शिक्षिका सुधा काफ्ले शर्माको कामपा– ३४ स्थित सडक बिस्तारको रेखाङ्कनमै नपरेको घरजग्गा अतिक्रमण गरिएको थियो ।

पीडित जग्गाधनी सुधा काफ्ले शर्माले न्यायका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष उजुरी गरेकी थिइन् । आयोगले झन्डै एक वर्षको अनुसन्धानपछि यही जेठ १७ गते उक्त उजुरी सम्बन्धमा “प्रस्तुत प्रतिवेदन र कागजात अध्ययन गर्दा साविकमा रहेको सार्वजनिक बाटोलाई केन्द्रबिन्दु मानी दुवै तर्फबाट बराबर जग्गा लिने गरी बाटो बिस्तार गर्न उजुरीकर्ता समेत सहमत रहेको देखिएकाले नापी नक्सामा कायम रहेको सार्वजनिक बाटोको क्षेत्रफल कट्टा गरी दुवै तर्फको जग्गाधनीबाट बराबरी सहभागिता हुने गरी बाटो बिस्तार गर्न” काठमाडौँ उपत्यका विकास प्राधिकरणका नाममा आदेश दिएको छ ।

आयोग सूत्रका अनुसार यस सम्बन्धी निर्णय कार्यान्वयनका लागि आयोगले उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौँलाई यही जेठ २० गते नै लेखी पठाइसकेको छ ।

एक वर्ष अघि बाटो खोल्ने क्रममा सुरक्षाकर्मी र नगर विकासका जिम्मेवार पदाधिकारी समेतलाई झुक्याएर ठेकेदार र स्थानीयवासीले शर्माको घरजग्गा दक्षिण र पूर्वी दुवै मोहडाबाट बिनासूचना अतिक्रमण गरेको थियो ।

महानगरीय प्रहरी वृत्त तीनकुनेका तत्कालीन प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले “तत्कालीन अवस्थामा पीडित पक्षको प्रमाणको अभावमा त्यस्तो हुन गएको” स्वीकारेका थिए । हाल उनी सरुवा भइसकेका छन् ।

पीडित पक्षका अनुसार निजी घरजग्गा अतिक्रमण प्रयासमा बाटो नभएको ठाउँमा जग्गा किनी घर बनाएर बसेका केही स्थानीय भू–माफियाको मुख्य हात थियो, जो योजनाको बाटो खुल्नु अघिसम्म सामान्य मोटरबाटोका लागि उनीहरूको ‘बाटोसहित पक्का गरी किनेको’ जग्गा सित्तैमा हडप्न चाहन्थ्यो ।

अतिक्रमण गर्ने पटक–पटकको प्रयास असफल भएपछि नगर विकास योजनाकै बाटो खोल्न उनीहरू अग्रसर भए तर निजी जग्गा अनियमित तवरले हडप्न भने अख्तियारको अनुसन्धान र आदेशका कारण असफल भए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर