newskoseli.Com

यसकारण चाहियो नयाँ शक्ति

हामी सम्पूर्ण राजनीतिमै नै नयाँ विकल्प दिँदैछौं किनकि इतिहास विभिन्न कालखण्ड हुँदै अगाडि बढ्छ । नेपाल नामको हाम्रो यो देशको भौगोलिक एकीकरण एउटा कालखण्ड थियो । ५०–६० वटा राष्ट्रमा विभाजित राष्ट्रलाई एकीकरण गर्नु थियो । ठीक–बेठीक, कसको नेतृत्वमा, कसले गर्यो, त्यो फरक कुरा हो । तर, एकीकरण आवश्यक थियो किनकि त्यो भौगोलिक एकीकरणको चरण थियो ।

पृथ्वीनारायण शाहदेखि भीमसेन थापा हुँदै सुगौली सन्धिसम्म एउटा चरण थियो । त्यो चरण असाध्यै केन्द्रीकृत नै हुनुपर्दथ्यो । राजा–महाराजा र भगवानको दुहाई नदिईकन त्यतिबेलाका जनताले बुझ्दा पनि बुझ्दैनथे । लड्ने–भिड्ने, मारकाट गर्ने, बन्दुक चलाउने, खुकुरी चलाउनेहरुले मात्रै राजनीतिमा सहभागी हुन सक्थे । राजतन्त्रात्मक र युद्धमुखी राजनीतिको त्यो एउटा चरण थियो ।

जनतालाई अधिकारसम्पन्न बनाउने र पुरानो सामन्ती एकात्मक राज्यव्यवस्थाको अन्त्य गरेर जनताका लोकतान्त्रिक इच्छा–आकांक्षा पूरा गर्ने, आफ्नो संविधान आफैं लेख्ने र जनतालाई सार्वभौम बनाउने अर्को चरण रह्यो ।

१९९० को आसपास प्रजापरिषद, प्रचण्ड गोर्खादेखि लिएर नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसवादी हुँदै पछिल्लो अवधि २०७२ को संविधान बनाउने बेलासम्म अर्को कालखण्ड थियो, जसले नेपाली जनतालाई अधिकारसम्पन्न गरायो । राजनीतिक परिवर्तन अथवा व्यवस्था परिवर्तनलाई सुनिश्चित गरायो । भोलि गएर अर्को व्यवस्था ल्याउनुपर्ला, त्यो बेग्लै कुरा हो । अहिले हाम्रो पुस्ताका लागि लोकतान्त्रिक व्यवस्था ल्याउन सक्यौं । यसरी दोस्रो चरण पूरा भयो ।

मुख्य कुरा यहींनेर हो । अब किन चाहियो नयाँ शक्ति ? जनतालाई भूगोल भयो, जनता अधिकारसम्पन्न पनि बने । अब जनतालाई जनजीविका चाहियो, आर्थिक विकास चाहियो । समृद्धि चाहियो, गरिबी र बेरोजगारीको अन्त्य हुनुपर्यो । शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुता सबैलाई ग्यारेन्टी हुुनुपर्यो । यसरी अब आर्थिक समृद्धिको चरण सुरु भयो । यो चरणको नेतृत्व लिने र राज्यसत्तालाई त्यही ढंगले सदुपयोग गरेर मुलुकमा छिटोभन्दा छिटो समृद्धि ल्याउने राजनीतिक दल हामीलाई आवश्यक छ । लोकतन्त्रका निम्ति संघर्ष गर्नेहरुमा लड्ने–भिड्ने र जेल जाने क्षमता थियो । त्यो क्षमताले अब नपुग्ने भयो । म पनि माओवादी आन्दोलनमा लागेकै हुँ । अब विकास र समृद्धितिर जानुपर्छ । अब पुरानो सोच, पुरानो शक्ति, पुरानो पार्टी र पुरानै क्षमताले पुग्दैन ।

त्यसैले अब पुराना हामी पनि रुपान्तरित हुने र नयाँ पनि जोडिँदै जाने क्रममै नयाँ शक्ति निर्माण गर्ने भनिएको हो । यसैका लागि हो नयाँ शक्तिको आवश्यकता परेको । त्यसैले यो जगैदेखि नयाँ बन्दैछ । हामी विभिन्न पृष्ठभूमिका मानिसहरु आ–आफ्ना पुराना आबद्धता त्यागेर यहाँ आएका छौं–आउँदै छौं । नयाँ घर बनाउन सामग्री पनि नयाँ नै चाहिन्छ ।

पहिले त हामी गुफामा बस्दथ्यौं । बिस्तारै स्याउलाले बारेका छाप्रोमा बस्यौं । पछि माटाका घरहरुमा बस्न थाल्यौं । अहिले हामीले आधुनिक र समृद्ध नयाँ घर बनाउन खोजेका हौं । त्यसका लागि रड, सिमेन्ट, काठ, सिसा सबै चाहियो । सबै जम्मा गर्नुपर्यो ।

त्यसैले अहिले हामी विभिन्न पृष्ठभूमिका मान्छे जम्मा भइरहेका छौं । एउटा आधुनिक, विशाल, समृद्धशाली घर बनाउनका निम्ति जम्मा भएका हामी सामग्री हौं । यसैलाई जोडेर र योजना, विचार, संगठनले नेतृत्व दिएर वैज्ञानिक नक्सा कोर्दै जगैदेखिको नयाँ घर बनाउँदै छौं । हामी सबै यही समृद्धिको आधुनिक घरका पार्टपुर्जा हौं । नयाँ घरका पार्टपूर्जा बन्ने हो, हामीले यसरी नै बुझौं ।

Baburam_Speakingयहाँ प्रश्न छन्, अवस्था परिवर्तन कि व्यवस्था परिवर्तन ? अहिलेसम्म हामी व्यवस्था परिवर्तन गर्न लड्यौं, अब आर्थिक अवस्था परिवर्तन गर्न लड्ने हो । व्यवस्था परिवर्तनका पनि अपुग कुरा छन् । जस्तो कि महिला, मधेसी, आदिवासी–जनजाति, दलितलगायतका सवालहरु नै बाँकी छन् । तिनलाई हामीले यही संविधानमा पूरा गरेर जानुपर्छ । अहिले नै हामी व्यवस्था नै परिवर्तनका लागि लड्नु हुँदैन । त्यसो गरिए हालसम्म प्राप्त उपलब्धिहरु समेत गुम्ने खतरा हुन्छ । त्यसैले यही संविधानलाई संशोधन गरेर जोड–कोण पूरा गर्नतिर लाग्नुपर्छ । यतिबेलाको हाम्रो मुख्य काम आर्थिक अवस्था फेर्नु नै हो ।

हामीले हाम्रा नीति तथा कार्यक्रमलाई पाँच ‘स’ का रुपमा सूत्रबद्ध गरेका छौं । यसमा पनि मुख्य कुरा समृद्धि नै हो । यही समृद्धिलाई पूरा गर्नका लागि अरु पाँच ‘स’ को कुरा गरेका हौं । यसमा सबैको स्वामित्व रहनुपर्यो । हिमाल, पहाड, तराई, सुदूरपश्चिम– सबैको सहभागिता हुने लोकतन्त्र चाहियो । त्यसले मात्रै देशलाई वास्तविक अर्थमा एकीकरण गर्न सक्छ र वास्तविक समृद्धिको यात्रा सजिलै तय गर्न सकिन्छ । यसैले हामीले समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्रमा जोड दिएका छौं ।

सदाचार र सुशासन पनि हाम्रो मुख्य प्राथमिकतामा पर्दछन् । अहिले सबैतिर भ्रष्टाचार व्याप्त छ । राजनीति भन्नासाथ फोहोरी पोखरी भन्ने बुझिन्छ । हामी यसलाई सफा गर्न चाहन्छौं । भ्रष्टाचारबाट मुक्त हुन चाहन्छौं । शुद्ध राजनीति गर्न चाहन्छौं । सदाचार पालना गर्न चाहन्छौं । त्यसो हुन सकेन भने भएका जति सबै साधन–स्रोत भ्रष्टाचारमै जान्छन् अनि कसरी विकास हुन्छ ? समृद्धिका लागि नेतृत्व, पार्टी र जनतामा नै सदाचार र सुशासनको संस्कृति विकास गर्नुपर्छ । सुशासन भनेको विधिको शासन हो । पारदर्शिता अपनाउनुपर्छ ।

हामीले जोड दिएको तेस्रो कुरा राष्ट्रिय स्वाधीनता हो । हामीले भावनात्मक कुरा मात्र गरेर हुँदैन । हामी गरिब भइराख्ने, रोजगारीका निम्ति भारततिर चौकीदारी गर्न गइरहनुपर्ने अनि भारतलाई नै गाली गरेर के गर्नु ? मरुभूमिमा गएर युवाले पसिना बगाइरहनु परेको छ । त्यो केही नभएको मरुभूमि अहिले संसारकै धनी देश भइसक्यो । हामी भने सधैं झगडा गरेका छौं र अलिअलि भएका पनि केही नेताहरुले खाएर सिध्याएका छन् भने यही अवस्थामा कसरी जोगिन्छ राष्ट्रियता ?

हामीले सही अर्थमा राष्ट्रियता जोगाउने हो भने यो देशलाई गरिबी र बेरोजगारीबाट मुक्त बनाउनुपर्छ । सबै देशसँग राम्रो सम्बन्ध राख्नुपर्छ । भारत र चीनबीच खुम्चिएर र चेपिएर बस्ने तरुल भएर होइन, विशाल बजारहरुसँग समान सम्बन्ध राखेर गतिशील पुल बन्ने सम्बन्ध कायम गर्नुपर्छ । आर्थिक समृद्धिको नेतृत्व गर्नेगरी हामी अगाडि बढ्नुपर्छ । मुलुक समृद्ध भएपछि मात्र राष्ट्रियता बलियो हुन्छ, स्वाभिमान बलियो हुन्छ । गरिबी, बेरोजगारी र भिखमंगा भएर हाम्रो स्वाधीनता बलियो हुँदैन । आत्मनिर्भर र अन्तर्निर्भर बनेर मात्रै स्वाधीन बन्न सकिन्छ भन्ने प्रगतिशील राष्ट्रियता नै हाम्रो मान्यता हो ।

नयाँ शक्तिको विचार र राजनीति के हो भन्ने पछि प्रश्न छ । विचार, राजनीति र दर्शन भन्ने कुरा मानिसले आ–आफ्ना आवश्यकताले जन्माएका कुरा हुन्, विचार र दर्शनले मान्छे जन्माएको होइन । मान्छेले आफ्नो युगको आवश्यकताले विचार जन्माएको हो । हिजो वाम र दक्षिण भन्ने जुन विचार थियो, त्यसकै आधामा उदारवाद र समाजवाद भन्ने दुईथरी विचार बीसौं शताब्दीभर प्रतिस्पर्धामा रहे । उदारवादले पनि असमानता र ठूलो विभेद ल्याएको छ, संघर्ष र युद्ध निम्त्याइरहेको छ । अर्कोतर्फ राज्यले सबै कुरा नियन्त्रण गर्ने भन्ने राज्यमुखी समाजवादले पनि मान्छेलाई सम्पन्न बनाउन सकेन र गरिबी बाँड्ने समाजवाद मात्रै भयो । यसैले अब हामी सम्पन्नता र समृद्धि बाँड्ने समाजवाद चाहन्छौं । लोकतन्त्रको जगमा खडा भएको सम्मुन्नत समाजवाद हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । जसले हामीलाई समृद्धि, सुख, खुसी, स्वाधीनता र स्वाभिमान दिन सक्छ– त्यही विचार जन्माउने अभ्यासमा हामी छौं ।

यसरी युग सुहाउने विचारको विकास गर्ने आँट हामीले गर्नुपर्छ । जसरी २ हजार ५ सय वर्ष अगाडि बुद्धले विश्वलाई विचार दिने प्रयत्न गरेका थिए, यो विज्ञान र सूचना प्रविधिको युगमा हामीले नयाँ विचार र दर्शन किन दिन सक्दैनौं ? त्यो आँट हामीले गर्नुपर्छ । यस्ता कुरामा कांग्रेस थिइस् कि माओवादी थिइस् वा कम्युनिस्ट थिइस् भन्ने कुराले अब कुनै काम गर्दैन । हामी त्योभन्दा माथि उठेको आधुनिक युगको आवश्यकता पूरा गर्ने शक्ति हौं । यसले दिने नयाँ विचारले युगका समस्या समाधान गर्दै देशलाई समृद्ध बनाउने कुरालाई केन्द्रमा राखेर हामीले नयाँ शक्ति बनाएका हाैं ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर