newskoseli.Com

यस्तो छ बाबुरामको पार्टी घोषणाको हिसाबकिताब

आइतबार राजधानीमा बाबुराम भट्टारार्इ नेतृत्वको नयाँ शक्ति नेपाल नामक पार्टीको औपचारिक घोषणा हुँदैछ । नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले पार्टी घोषणाका क्रममा हुने आम्दानी र खर्चको अनुमानित विवरण शनिबार राति न्युजकोसेलीलार्इ उपलब्ध गराएका छन् ।

नेता देवकोटाले दिएको विवरण अनुसार नयाँ शक्ति घोषणाका क्रममा १ करोड ७६ लाख ६५ हजार ३ सय २३ रूपैयाँ संकल हुँदैछ । त्यसैगरी सो क्रममा कूल १ करोड ५ लाख खर्च हुँदैछ ।

प्रवक्ता देवकोटाले विज्ञप्तिमा तयारीका सम्पूर्ण काम लगभग पूरा भएको जनाएका छन् । उनले भनेका छन्– ‘नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणासभा सम्पन्न गर्नका लागि देवेन्द्र पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति र विभिन्न कामको प्रकृतिअनुसार काम सम्पन्न गर्न १४ वटा उपसमितिहरु गठन भई आ–आफ्नो काम सम्पन्न गर्ने क्रममा छन् । आर्थिक समिति, जनपरिचालन व्यवस्थापन, प्रतिनिधि पर्यवेक्षक आवास व्यवस्थापन, मञ्च व्यवस्थापन, छलफल सत्र व्यवस्थापन, अतिथि सत्कार, प्रचार प्रसार र प्रकाशन, सांस्कृतिक टिम परिचालन, स्थास्थ्य व्यवस्थापन, स्वयंसेवक परिचालन, संघसंस्था निमन्त्रणा, कार्यालय व्यवस्थापन, भोजन व्यवस्थापन समितिहरु उपसमितिका रुपमा गठन भएका छन् ।’

यस्तो छ पार्टी घोषणाको तयारी :

इभेन्ट म्यानेजमेन्टलाई व्यावसायिक ढंगले मञ्च व्यवस्थापनको जिम्मा दिइएको छ ।

अडियो, भिडियो, प्रिन्ट सामग्री तयार गरी विभिन्न सञ्चार माध्यममार्फत प्रचार–प्रसारको काम भइराखेको छ ।

देशैभरि र प्रवासवाट समेत गरी १ लाख १४ हजार ५ सय ४६ जनाको सदस्यता फारम प्राप्त भएको छ ।

अतिथिका रुपमा देशभित्र क्रियाशील राजनीतिक दलहरुलाई, व्यवस्थापिका–संसदका सदस्यहरुलाई, विभिन्न संघ–संस्थाका प्रतिनिधि, नागरिक समाज, पेशागत संगठन तथा मिडियासम्बद्ध संस्था तथा व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ ।

विदेशी मित्रहरु खासगरी वैकल्पिक राजनीतिक पार्टीहरुलाई आमन्त्रण गरिएको छ । यसै क्रममा बेलायत, कोसोभो, हंगेरी, श्रीलंका, भुटान, भारत, चीन, पाकिस्तान, वंगलादेशमा क्रियाशील राजनीतिक पार्टीहरु छन् । जसमध्ये युरोपियन अल्टरनेटिभ, रेड पार्टी नर्बे, द अल्टरनेटिभ डेनमार्कबाट आफ्नै पूर्वनिर्धारित कार्यक्रमका कारण उपस्थित हुन नसकेको जानकारीसहित शुभकामना पत्र प्राप्त भएको छ ।
देशभित्र रहेका २५ भन्दा बढी देशका राजदूतहरुलाई आमन्त्रण गरिएको छ, सभामा उहाँहरुको उपस्थिति हुनेछ ।

देशभरका १ लाखभन्दा बढी सदस्यहरु स्वयं उपस्थित भई सामूहिक रुपमा शपथग्रहण गर्ने कार्यक्रम रहेकाले सो सभालाई व्यवस्थापन गर्न उपत्यकाका कालिमाटी, कुपन्डोल, रत्नपार्क, तीनकुने गरी चार स्थानबाट कार्यक्रमस्थल रंगशालामा र्याली केन्द्रित हुनेछ । उक्त ठाउँबाट ट्राफिक व्यवस्थापन गर्दै नियमित आवागमनमा कुनै असर नपर्ने गरी रंगशालासम्मको यात्रा तय गरिएको छ । र्याली ठीक १२ बजे रंगशाला पुग्नेछ र कार्यक्रम आरम्भ हुनेछ । त्यसै अवसरमा विभिन्न राष्ट्रियताहरुको वेषभुषासहितका झाँकीहरु प्रदर्शन गरिनेछ ।

३ वटा दस्तावेज प्रस्तुत र छलफल हुने

जेठ ३१ र ३२ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा छलफल सत्रको आयोजना गरिएको छ । सो छलफल सत्रमा ‘नयाँ शक्तिका आधारतत्व’ शीर्षकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक सिद्धान्त र विधान तथा ‘विकास र समृद्धिको मार्गचित्र’ शीर्षकमा अर्को दस्तावेज गरी तीनवटा दस्तावेज प्रस्तुत हुनेछन् । उक्त दस्तावेजहरुउपर छलफल गर्न प्रतिनिधिहरुलाई दस समूहमा विभाजन गरिनेछ । दस्तावेजलाई सुझावसहित अन्तरिम रुपमा लागू गर्ने गरी महाधिवेशनसम्मै छलफलमा पठाइनेछ ।

यसरी पार्टी घोषणा, सामूहिक शपथ–ग्रहण एवं छलफल सत्र सम्पन्न गरी एक वर्षभित्रै महाधिवेशन सम्पन्न गर्ने घोषणा हुनेछ । त्यसपछि स्थानीय र प्रदेश स्तरका अधिवेशनहरु सम्पन्न गरिनेछन् ।

देवकोटाले विज्ञप्तिको अन्त्यमा भनेका छन्– ‘अन्तमा, राष्ट्रिय भेला सम्पन्न गर्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । खासगरी प्रचारप्रसारमा श्रब्य, श्रब्य–दृश्य, प्रिन्ट, अनलाइन तथा सिनेमा हललगायतका सबै माध्यमबाट  प्रचार सामग्री सम्प्रेषण गर्न सहयोग पुर्याउनुहुने सबै सञ्चार माध्यमहरुप्रति हार्दिक आभार प्रकट गर्दै निरन्तर सहयोगको अपेक्षा पनि गर्दछौं ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर