newskoseli.Com

प्रदीप गिरिले किन लिए करिश्माको सातो ?

कांग्रेस नेता प्रदीप गिरिले आइतबार सार्वजनिक कार्यक्रमको मञ्चमै सबैका सामु नयाँ शक्ति नेपालकी केन्द्रीय नेता समेत रहेकी सिनेअभिनेत्री करिश्मा मानन्धरको सातो लिइदिए ।

नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा उद्घोषक रहेकी अभिनेत्री मानन्धरले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद प्रदीप गिरिका विषयमा अन्टसन्ट बोलेपछि गिरिले तत्कालै नायिकाको सातो खाइदिँदा एकछिन त दशरथ रङ्गशाला तात्तिन पुग्यो ।

उद्घोषक करिश्माले प्रदीप गिरीको नाम शुद्धसँग उच्चारण गर्न नजानेपछि प्रदीपले मञ्चबाटै करिश्मालाई ‘उद्घोषक सुन्दरी’ को संज्ञा दिए । प्रदीप गिरिले भने– ‘उद्घोषक सुन्दरीले भनेजस्तो म भट्टराई वा डाक्टर केही पनि होइन । मेरो परिचय यत्ति नै हो ।’

करिश्मा मानन्धरले उद्घोषणका क्रममा नाम चलेका शीर्ष नेताहरुका नाम समेत राम्रोसँग उच्चारण गर्न सकेकी थिइनन् । प्रदीप गिरिले आलोचना गरेपछि करिश्माले भनिन्– ‘म अलि छिटो बोल्ने गरेकी छु, त्यही भएर गल्ती हुने गरेको छ । अबदेखि सुध्रन प्रयास गर्नेछु, सर ।’

उद्घोषणका क्रममा करिश्माले धेरै नै बिगारेपछि अर्का उद्घोषक पासाङ शेर्पाले सुधारको प्रयास गरे । यतिसम्म कि करिश्माले उद्घोषणका क्रममा प्रधानमन्त्रीलाई ‘केपीजी साढे तीन बजे आउँदै हुनुहुन्छ’ भनेर सभालाई जानकारी दिइन् । उनले त्यत्रो तामझामसहितको औपचारिक कार्यक्रमको मञ्चबाट मुलुकका बहालवाला प्रधानमन्त्रीको पूरा नाम लिने शिष्टाचार समेत प्रदर्शन गर्न जानिनन् ।

सुरूआतदेखि नै कार्यक्रम बिगार्दै गएकी करिश्माले शेरबहादुर देउवाका विषयमा पनि अन्टसन्ट बोलेकी थिइन् । करिश्माले भनिन्–‘शेरबहादुर दाइसँग पनि राम्रो छ । आरजु भाउजूसँग पनि राम्रो छ ।’

रातो साडीमा सजिएकी करिश्माको यस्तो कार्यलार्इ कार्यक्रममा सहभागी सबैजसोले अलोचना गरे । प्रधानमन्त्रीको नाम समेत सम्मानका साथ लिन नजान्नेले कसरी राजनीति गर्ने हो भनेर धेरैले टीकाटिप्पणी गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर