सम्माननीय डा. बाबुराम भट्टरार्इज्यू,
सलाम, जयनेपाल, अभिवादन अर्थात् नमस्कार ।
साथै, ज्ञात–अज्ञात हजारौं महान् सहिदहरुप्रति भावपूर्ण श्रदाञ्जली ।
मरूभूमिबाट हाम्रा सम्माननीय डा. बाबुराम भट्टरार्इज्यूलाई एक नेपाली नागरिकको हैसियतले यी दुई शब्द कोर्ने प्रयास गरेको हुँ । म पूर्वजनमुक्ति सेना नेपालको सदस्य । तत्कालीन नेकपा (माओवादी) पार्टीको एउटा कार्यकर्ता । नेताको नातावाद र कृपावादको कोपभाजनमा परेको एक कार्यकर्ता । तर, म कुनै व्यक्ति वा नेताको कार्यकर्ता चाहिँ थिइँन र होइन । मात्र माओवादी विचारधारको एक शुभचिन्तक–समर्थक सिपाही ।
सम्माननीय डा. बाबुराम भट्टरार्इज्यू,
शायद मजस्तो अरबमा भेंडा चराइरहेको ‘गोठाला’ का यी शब्द पढ्ने समय तपार्इंसँग नहोला । तर, माओवादी पार्टीमै जन्मे–हुर्केको नेता–कार्यकर्ताबीचको पुरानो नाताका कारण हजुरलाई सम्बोधन गरेर दुर्इचार शब्द लेख्दै सम्झना गर्न बाध्य भएको छु यतिबेला ।
संघीयता, धर्मनिरपेक्षता, मधेसी, मुस्लिम, दलित, आदिवासी, महिला, उत्पीडित, पिछडिएका समुदाय, भेरी–कर्णाली, गरिब–निमुखा जनताको अवस्थामा सकारात्मक परिवर्तनका निम्ति भन्दै दस–दस वर्षसम युद्धको नेतृत्व गर्नुभयो । तर, ती सबलार्इ बीचैमा लअपत्र छाडेर अब फेरि केका लागि ‘नयाँ शक्ति’ बनाउनुभएको हो डा. साब ? म र मजस्ता लाखौं युवाको यस प्रश्नप्रति एक पटक गम्भीर भएर सोच्नुहोला ।
१७ हजार मान्छेको रगतमा होली खेल्नुभो । हजारौं महिलाको सिन्दुर पुछिएको छ । हजारौं मान्छे अङ्गभङ्ग भएका छन् । कसैको हात छैन त कसैको खुट्टा छैन । कसैका आखाँ छैनन् त कसैका नाक्–कान छैनन् । कतिपयका शरीरभरि अहिले पनि घाउचोट बग्रेल्ती छन् । अझै घाइते–अपाङ्गको घाऊ निको भएको छैन । कसैको त शरीरबाट अझैसम्म गोली पनि निकालिएको छैन। जनयुद्धकालमा राज्यले बेपत्ता बनाएका हजारौं नागरिकहरूको अवस्था अहिलेसम्म पनि अज्ञात छ । तिनका परिवारजन आजसम्म पनि आफन्तको खोजी गर्दै चहारिरहेका छन् ।
कमाएर घरमा ल्याउने र परिवार पाल्ने मान्छेको जनयुद्धमा मृत्यु भयो। आमाले खोलामा बालुवा चाल्दै हुनुन्छ, छोराछोरीहरुले स्कुल देखेका छैनन् । वस्नका निम्ति बास छैन, पेटभरि खाने गास छैन। शरीर ढाक्ने एउटा टालो छैन। त्यति ठूलो त्याग गरेर तपार्इंलार्इ राष्ट्रकै सबभन्दा ठूलो कार्यकारी पदमा उकाल्ने अनि तपार्इंको यत्रो हैसियत र ‘नयाँ शक्ति’ बनाइदिन योगदान गर्ने यी गरीब जनताहरु पीडाले पोल्दैन डा. साब ?
हामी सबैमा सबैभन्दा उच्च स्तरको पढाइलेखाइ भएको राष्ट्रको परिवर्तनका निम्ति अहोरात्र लाग्ने प्रगतिशील व्यक्ति नेपालमा तपाईं नै पहिलो हो भन्ने बुझाइ थियो । तर, तपाईं यहाँसम्मको हुनुहुँदो रहेछ कि त्यो कुरा यति छिट्टै उदाङ्गो हुन पुग्यो । तपाईं यहाँसम्मको हुनुहुँदो रहेछ कि अब तपाईंको मृत्युकै खबर सुन्दा पनि कुनै जनताले आँखाभरि आँसु होइन, नाराजुलुससहित भोजभतेर पो गर्लान् । त्यस दिन नेपालमा अहिलेसम्म नलेखिएको इतिहास जनताले लेख्ने स्थिति नआउला भन्न सकिन्न ।
सम्माननीय डा. बाबुराम भट्टरार्इज्यू,
एकचोटि गम्भीर भएर सोच्नुहोस् त जनताले तपाईंलार्इ कति पटक चुनाव जिताए ? प्रचण्डजस्तो व्यक्तिलार्इ त हराए नेपाली जनताले । नेपाली जनताले जनयुद्धलाई पूर्ण समर्थन गरे । नेपाल आमाका होनहार छोराछोरीहरुले आफ्नो अमूल्य ज्यानको बाजी थाप्दै दस–दस वर्षसम्म भोक, निद्रा, विश्राम, आराम र व्यक्तिगत स्वार्थ केही नभनी, घरपरिवारको स्वार्थमा नलागी महान् जनयुद्धमा रगत बगाएर हजुरलाई सत्तामा पुर्याए । तर, आज नेपाली जनता सोच्न पनि नसक्ने तहको धोका तपार्इंबाट पाइएको अनुभूति गर्दैछन् । हजुरले आफ्नो स्वार्थका निम्ति आफैंले जन्माएका चेलाहरुलाई ज्युँदै खाडलमा हाली आफूलाई एक नम्बरको विकासवादी नेता देखाउने प्रयास गरिरहनु भएको छ ।
हजुरले आफ्नै कारणले पार्टी छाड्नुभयो किनकि हजुरसँग माओवादी राजनीति गर्ने योग्यता नै रहेनछ । आफैंले स्थापित गरेको राजनीतिक मान्यता र सिद्धान्तलार्इ सत्तोसराप गरेर आफैं पतन हुने कस्तो खालको राजनीति गरिरहनु भएको छ डा. साब ? एउटा सामान्य कार्यकर्ताले त पार्टीमा सङ्घर्ष गरेर, आफूलार्इ बेठीक लाग्ने प्रवृत्तिलार्इ परास्त गरेर आफैं नेतृत्व लिने प्रयास गर्छन् भने हजुरले त हामीजस्ता कार्यकर्तालार्इ आफैंले ब्युँताएर आफैंले पतन गराउने दुष्कर्म पो गर्नुभो ।
आज कांग्रेस–एमालेहरूले देशभरका ठाउँठाउँमा ‘माओवादीमुक्त क्षेत्र’ घोषणा गर्दै हिँडिरहेका छन् । विदेशमा गएर भाँडा माझ्नेदेखि कुल्ली काम गर्नेसम्म, चिया बेच्नेदेखि क्याम्पस पढाउने शिक्षकसम्म, चिया चौतारीदेखि कालोबजारी र भ्रष्टाचार गर्ने कर्मचारी–व्यापारीसम्मका सबैको मुखबाट माओवादीका विरूद्ध आलोचना र सत्तोसराप बाहेक अरु केही आउँदैन । के यी विरोधीहरूले तपाईंलार्इ ‘बाबुराम त नयाँ शक्तिको मान्छे हो’ भनेर छुट देलान् त ?
अहिलेसम्म गरिब निमुखा जनतले गणतन्त्रको महसुस गर्न सकेका छैनन् । गरिब निमुखा जनता दिनहुँ भोकभोकै छट्पटिएका छन्, पेटभरि खानेसम्मको व्यवस्था छैन। बिहान–दिउँसाे काम गरेर बेलुका छाक टार्नेहरुलाई दिनहुँ हुने बन्द–हड्तालले झन् भोकभोकै पारेको छ । के यही हो त गणन्त्रको उपहार ? बिरामी हुँदा ४–५ घन्टाको पैदल यात्रा गरेर अस्पताल जानुपर्छ, त्यहाँ पुग्दा डाक्टर हुँदैनन् । जसोतसो डाक्टर साबबाट चेकजाँच गराइयो भने औषधिको नाममा सीटामोलसम्म पनि पाइँदैन । तर, तपाईंहरुजस्ता नेताहरुका लागि भने राज्यको ढुकुटीबाट सहजै करोडौं–अरबौं रकम खर्च गरी विदेशमा उपचार गराइन्छ ।
बालबच्चा स्कुल जान घरबाट बिहान हिँडेपछि बेलुका घर फर्कन्छन् कि फर्कंदैनन्, थाहा हुँदैन । स्कुलबाटै अपहरणमा पर्ने, शिक्षा दिने गुरुबाहरूबाटै बलात्कृत हुने या अरू केही विपत्तिमा पर्ने हो, कुनै ठेगान छैन । निजी स्कुल पैसावाल धनाढ्य र तपाईंहरु जस्तै राजनीति गर्ने नेताहरुका छोराछोरीहरुका भैहाले, सरकारी स्कुल विद्यार्थीदेखि शिक्षकसम्मको राजनीति गर्ने अड्डा । जागिर खाने या उच्च शिक्षा पढ्ने बेलामा चाहिँ धनी–गरिबका छोराछोरीबीच ‘गुणस्तरमा प्रतिस्पर्धा’।
हिजो जनयुद्धमा छँदा नारा लगाउनुभो– ‘जसको जोत, उसको पोत’। आज कसैसँग करोडौं–अरबौंको सम्पत्ति छ त कसैसँग बास बस्ने झुपडी र गरेर खाने एक अना जमिन समेत छैन । सुकुम्बासीका नाममा तपाईंहरुजस्तै राजनीतिक खोल ओढेका भूमाफियाहरुले सरकारी जमिन ओगटेका छन् । अझ भन्ने हो भने, हजुर आफैं प्रधानमन्त्री बन्दा पुलिस लगाएर वास्तविक सुकुम्बासीको उठीबास लगाउनुभो । जो गरिब छ, उसँग काम गरेर खाने पौरख छ तर जमिन छैन । दैनिक गुजारा चलाउने उपाय छैन । अनि के दिनुभो त १७ हजार मान्छे मारेर ? मौका पाउँदा त्यस्तो व्यवहार देखाउनुभएका तपार्इंले भोलि ‘नयाँ शक्ति’ का नामबाट ‘समृद्धि’ को मूल फुटाउँछु भनेका कुरा कसरी पत्याउने ?
जुन देशमा रेमिट्यान्सका निम्ति विकासका मेरुदण्ड युवायुवतीहरुलाई विदेशमा बेच्ने गरिएको छ, कसरी हुन्छ त्यस्तो देशको समृद्धि ? जनयुदकालको कुरा छाडौं, गणतन्त्रको घोषणायता पनि योग्ता, दक्षता, सिपअनुसारको रोजगारी स्वदेशमै किन दिइएन ? कहिले अर्थमन्त्री त कहिले प्रधानमन्त्री बनेर तपार्इंले नै शासन गर्नुभएको होइन र ? सुरक्षा अंगदेखि सामान्य कर्मचारीसम्म, हाकिमदेखि पियनसम्मकालार्इ राजनीतिक आडमा रोजगारी दिइयो । खै त योग्यताको सम्मान ?
दिनहुँ लूटपाट, हत्याहिंसा, मानवतस्करीदेखि बलात्कारसम्मका घटना घटिरहेका छन् । भारतीय पक्षबाट हुने नेपाली भुभागको कब्जादेखि चोरीडकैती र हत्याहिंसासम्मका अपराध झन् बढेका छन् । खै कहाँ गए त तपाईंका ‘समायोजित जनमुक्ति सेना’ ? शान्ति सम्झौता र जनसेना विघटनका बेला ‘जनमुक्ति सेनालाई विकास निर्माणदेखि वन सुरक्षा र सीमा सुरक्षासम्ममा लगाउँछौं’ भनेर जबर्जस्ती गर्ने मुख्य नेता तपार्इं नै होइन ?
आफू सत्ताबाहिर छँदा प्रजातन्त्रको नारा लगाउनेको सरकार आए पनि भ्रष्टाचार, बहुदलको नारा लगाउनेको सरकार आए पनि भ्रष्टाचार, गणतन्त्रको नारा लगाउनेको सरकार आए पनि भ्रष्टाचार, मन्त्रीदेखि हाकिम हुँदै पियनसम्मबाट भ्रष्टाचार । यसैका लागि हो गणतन्त्र ? तपाईं प्रधानमन्त्री भएयताका हजुरका राजनीतिक व्यवहार कुनै सकारात्मक लक्षण देखाएका छैनन् भने अब फेरि केका लागि ‘नयाँ शक्ति’ ?
०५२ मा जनयुद्धमा जानुअघि हजुर खुट्टामा चप्पल लगाएर फुटपाथमा हिँड्नुहुथ्यो, आज हजुरको आँगनमा आधा दर्जनजति गाडी पार्किङ गरिएका हुन्छन् । विनागाडी हजुरको कतै ‘सवारी’ हुँदैन । हजुरलाई यो हैसियतमा पुर्याउने त्यही मार्क्सवाद–लेनिनवाद र माओवादको दर्शन हो, जसले गर्दा तपार्इं नेपालको ठूलो नेता बन्नुभो । आज त्यही दर्शन अर्थात् मालेमावादको सिद्धान्त कसरी ‘असान्दर्भिक’ भए ? किन यी सिद्धान्त छाडेर सडकमा ‘झाडु’ लगाउने ‘नयाँ शक्ति’ खोल्नुभो ? अब फेरि के आधारमा हामीले हजुरलाई विश्वास गर्ने ?
हजुरको ‘नयाँ शक्ति’ मा कुनै नौलो कुरा देखिँदैनन्, जुन–जुन कुरा हजुरले माओवादीमा छँदा गर्नुहुथ्यो तिनै कुरा हजुरले ‘नयाँ शक्ति’ मा गएर गर्ने बताइरहनु भएको देखिएको छ । खालि १० वर्षे र २० वर्षे योजना अनि नेपाल होइन, स्विट्जरल्याण्डका कुरा । हामीलार्इ १० वर्षे र २० वर्षे योजना चाहिँदैन, ती त विगतमा पञ्चायती व्यवस्थामै प्रयोग भइसकेका थोत्रा मान्यता हुन् । सक्नुहुन्छ भने देशमाथिको नाङ्गो विदेशी हस्तक्षेप बन्द गर्नोस् । भ्रष्टाचार नियन्त्रण गर्नोस् । भूकम्पले रोएका जनताको पेट भरिदिन नसके पनि टिनको घर बनाइदिनोस् । महँगी नियन्त्रण गर्नोस् । कालोबजारी गर्नेको लाइसेन्स खारेज गर्नोस् । दलाल तथा तस्करहरुलार्इ कानुनभित्र ल्याएर सख्त कारबाही गर्नोस् । दक्षता र सिप भएकलार्इ रोजगारी दिनोस्– देश आफैं बन्छ ।
सडकमा झाडु लगाएर १० वर्षे र २० वर्षे नारा डा. साबले लगाउनु पर्दैन, झाडु त हामी आफैं लगाउँछौं । देश र जनताको नेता बन्न ‘नयाँ शक्ति’ चाहिँदैन, ती सबै काम माओवादी आन्दोलनभित्रै रहेर मात्र सम्भव छ । माओवादी आन्दोलन दलित, मुस्लिम, मधेसी, आदिवासी जनजाति, महिला, उत्पीडित, पिछडिएका वर्ग र क्षेत्रका जनताको समर्थनमा बाँचेको छ र बाँच्छ भने हजुरको ‘नयाँ शक्ति’ सुकिलामुकिला, ठूलठुला व्यापारी, धनाढ्यदेखि पूर्वप्रशासक र हिरोहिरोइलगायतको बाहुल्यता देखिएको छ । फरक यत्ति नै छ ।
अझ गहिरिएर हेर्ने हो भने हिजो जनयुद्धकालमा हजुरहरुको ‘टाउकाको मूल्य’ तोक्ने पुराना पञ्चदेखि, कांग्रेस–एमालेसम्मले निष्काशन गरेका नोकरशाही तथा दलालहरुको बाक्लो उपस्थिति देखिएको छ तपार्इंको ‘नयाँ शक्ति’ मा । यसर्थ, राष्ट्र र जनताको परिवर्तनका लागि ‘नयाँ शक्ति’ होइन, वास्तविक माओवादी आन्दोलनकै आवश्यकता छ ।
२०७३ जेठ ३०
अर्घाखाँची, हाल– साउदी अरब