newskoseli.Com

चन्द माओवादीका नेताद्वारा सशस्त्र क्रान्तिको चेतावनी

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीका एक नेताले राज्यका विरुद्ध सशस्त्र क्रान्तिको चेतावनी दिएका छन् । अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका केन्द्रीय महासचिव लालबहादुर विश्वकर्मालाई सोमबार राति ८ बजे पार्टी कामको सिलसिलामा काभ्रे जिल्लामा गिरफ्तार गरिएको भन्दै त्यसका विरुद्ध विज्ञप्ति जारी गर्दै उक्त संगठनका अध्यक्ष सिद्धिमान खड्काले त्यस्तो चेतावनी दिएका हुन् ।

संघद्वारा मंगलबार जारी विज्ञप्तिमा अध्यक्ष खड्काले भनेका छन्– ‘विनाकारण कथित राज्यसत्ताका दलालहरुको अपुष्ट आरोपसहित प्रहरीले गिरफ्तार गरेकोप्रति हाम्रो केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रतिक्रियावादी राज्यसत्ताले हाम्रो पार्टीले गरेका क्रान्तिकारी, जनमुखी एवं जनजीविका तथा जनतन्त्रका सवालका साथै राष्ट्रियताका विषयमा उठाएको आन्दोलनबाट त्रसित भई हाम्रो पार्टीका नेता–कार्यकर्तालाई विनाकारण हतास मानसिकताबाट गिरफ्तार गर्ने, झुट्टा मुद्दा मलगाउने, धरपकड गर्ने र अनावश्यक निगरानी बढाएकोप्रति हाम्रो घोर आपत्ति छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘क्रान्तिकारीहरुका लागि जेलनेल त्यति ठूलो कुरा होइन तर विनाकारण हाम्रा नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने यस्तो कार्य निकै निन्दनीय छ ।

अतः हाम्रा केन्द्रीय महासचिव क. लालबहादुर वि.क. लगायत देशैभरिबाट गिरफ्तार हुनुभएका नेता–कार्यकर्ताहरुको यथाशिघ्र रिहाइको माग गर्दछौं । अन्यथा आन्दोलनमा जानुको विकल्प रहनेछैन । हामीले शान्तिपूर्ण आन्दोलन गर्दैगर्दा सरकारले मुठभेड गर्दै हाम्रो पार्टीप्रति र संगठनप्रति यस्तै व्यवहार गरेमा हामी पनि सशस्त्र क्रान्तिका लागि तयार रहेको समेत चेतावनी दिन चाहन्छौं ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर