newskoseli.Com

स्वागतम् ! न्युजकोसेलीको औपचारिक सेवा आरम्भ…

नयाँ वर्षको प्रारम्भसँगै वैशाख १० गतेदेखि परीक्षण प्रकाशन/प्रशारणमा रहेको न्युजकोसेली डटकमले असार १ देखि आफ्नो नियमित एवम् औपचारिक सेवा सुरु गरेको कुरा सहर्ष उदघोष गर्न चाहन्छौं ।

परीक्षणकै क्रममा न्युजकोसेली डटकम सञ्चालनका निम्ति न्यूनतम प्राविधिक एवम् भौतिक तथा कानुनी एवम् प्रशासनिक तयारीका काम पूरा भए । र, यस अवधिमा लेखक, साहित्यकार, सूचना–समाचारदातालगायत समाजको ठूलो पंक्तिबाट उत्साहजनक ढङ्गबाट साथ, सहयोग र समर्थन समेत प्राप्त हुन थाल्यो ।

यही अवधिमा पाठक वर्गबाट समेत असाध्यै ठूलो विश्वास, माया र साथ पाउन न्युजकोसेली टिम समर्थ भयो । विभिन्न प्राविधिक तथ्यांक एवम् अन्य विविध माध्यमहरुमार्फत प्राप्त नतिजा र ‘फिडब्याक’ हरुले यो कुरालाई पुष्टि गरिरहेका छन् ।

सबैतिरबाट प्राप्त यही हौसला, प्रेरणा र सदभावबाट विश्वस्त हुँदै न्युजकोसेली टिमले औपचारिक एवम् नियमित सेवाको प्रारम्भ गरेको हो । यस अवसरमा हामी न्युजकोसेली प्रारम्भ गर्दा जारी गरिएकै प्रतिबद्धता, अपेक्षा र अनुरोध दोहोर्‍याउन चाहन्छौं ।

कुनै सञ्चार माध्यम अस्तित्वमा आएसँगै चासोका साथ प्रश्न गरिन्छ– ‘यो कुन पार्टीले चलाएको रहेछ ?’ अथवा ‘यो कसको नजिक छ ?’ न्युजकोसेलीका सन्दर्भमा पनि यो प्रश्न खडा भएकै छ । हामीले दिने जवाफ हो– न्युजकोसेली कुनै पार्टीले चलाएको सञ्चार माध्यम होइन र कसैको नजिक पनि छैन । न्युजकोसेली कुनै राजनीतिक पक्ष/शक्तिको मुखपत्र वा पिछलग्गू या समर्थक अथवा विरोधी होइन र कुनै हालतमा हुँदैन ।

सुसूचित हुन पाउने आम जनताको अधिकारलार्इ सम्मान र संरक्षण गर्दै सत्यतथ्य समाचार, सन्तुलित विचार र स्वस्थ मनोरञ्जनका सामग्री पस्कनु नै हाम्रो कर्तव्य हुने छ । वैचारिक दृष्टिले सबै राजनीतिक प्रवृत्ति/पक्षप्रति निरपेक्ष रहँदै गुण र दोषका आधारमा समर्थन र विरोध गर्नु न्युजकोसेलीको आधारभूत नीति हुनेछ ।

सबैखाले वैचारिक पक्षधरता अँगाल्ने स्थापित एवम् सुपरिचित लेखक–स्तम्भकार, नेता–कार्यकर्ता, स्रष्टा–सर्जक इत्यादिका लेखरचना र सामग्रीहरूले न्युजकोसेलीमा स्थान पाउने छन् । न्युजकोसेली सबै विचारधारा र मान्यताबीच स्वस्थ एवम् मर्यादित ढङ्गबाट तर तीव्र तथा पेचिलो तरिकाले बहस–छलफल र विचार–विमर्श गर्ने साझा थलोका रुपमा अगाडि बढ्नेछ ।

आजसम्म हामीलाई न्यानो माया, स्नेह, सहयोग र सदभाव प्रकट गर्नुभएका सबैप्रति कृतज्ञतापूर्वक अभिवादन टक्र्याउँदछौं । उहाँहरू सबैबाट आगामी दिनका कठिनतम यात्राका क्रममा झन् बढी साथ, समर्थन र सहयोग प्राप्त हुनेछ भन्ने कुरामा समेत हामी विश्वस्त छौं ।

अन्तमा, परीक्षण प्रकाशन/प्रशारणको चरणमा रहन गएका कमी–कमजोरीलाई हटाउँदै आगामी दिनमा यथाशक्य प्रभावकारी ढङ्गबाट राष्ट्र र नागरिकको सेवामा समर्पित रहने प्रतिबद्धता जाहेर गर्दछौं ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर