भुकताङ्ले गाविसका बासिन्दाले भिरमह बिक्री गरेर गाउँमा सडक निर्माण गरेका छन् ।
भिरमह बिक्री गरी ६ लाखको लागतमा कास्कीको नयाँपुलदेखि पर्वतको भुकताङ्ले–८ र ९ हँदै पुनः कास्कीको पर्यटकीयस्थल दाङ्सिङ सुधामेसम्म करिब ४ किलोमिटर सडकको ट्र्याक खोलेका हुन् । स्थानीयवासी महानबहादुर गुरुङका अनुसार स्थानीयले यस वर्ष ३०० किलो मह सङ्कलन गरेका थिए ।
प्रतिकिलो मह २ हजारका दरले स्थानीय बजार र पोखरा तथा काठमाडौँमा बिक्री गरी रकम सङ्कलन गरिएको गुरुङको भनाइ छ । उक्त सडक निर्माणसँगै पर्यटकीय सहर पोखरालाई हिमालपारिको जिल्ला मुस्ताङ हुँदै कोरला नाका जोड्ने सडकको नयाँ ट्र्याक समेत जोडिएको छ ।
अन्नपूर्ण पदमार्गलाई वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने गरी स्थानीयवासीले ट्र्याक खोलेका हुन् । ट्र्याक खुलेपछि पोखरादेखि मुस्ताङ जाने सवारी साधनका लागि करिब ३५ किलोमिटर सडक छोटिएको बताइएको छ ।