newskoseli.Com

के भन्छन् ज्योतिषहरू नेपालको भविष्यबारे ?

यो वर्षको प्रारम्भ सौम्य नामक संवत्सरमा भएको छ । सौम्यको अर्थ शीतल एवं शान्त हुन्छ । यो संवत्सरमा समयानुकूल प्रशस्त वर्षा हुने हुँदा वर्ष उत्पादनशील रहनेछ ।

तर महँगी अनियन्त्रित रूपमा बढ्नाले न्यून आय हुनेहरूलाई समस्या पर्ने देखिन्छ । असन्तुष्ट समूहले विद्रोही भावना परित्याग गरी शान्तिको मार्ग अवलम्बन गर्नेछन् । वर्षाधिपति शुक्र र मन्त्री बुध भएकाले पनि यो वर्ष शुभ रहनेछ ।

सेनापति मंगल जगल्लग्नमा स्वगृही भएकाले निश्चित वर्गले मुलुकको सार्वभौम अधिकार एवं राज्यकोष सञ्चालन गर्नेछ । दलहरूको आ–आफ्नो अडानले संघर्ष निम्त्याउन सक्छ । जनताको आकांक्षा सम्बोधन हुनेगरी सरकारले कार्य गर्न नसक्ने देखिन्छ ।

कलाका पारखी एवं भ्रमण तथा मनोरञ्जनका स्वामी शुक्रले वर्षको नेतृत्व गरेकाले नेतृत्वमा बस्नेहरूले मुलुकको विकासभन्दा सुख–सुविधा, भ्रमण, कला, साहित्य, उपहार तथा पुरस्कार एवं औपचारिकता र मनोरञ्जनमा समय बिताउनेछन् । मन्त्री बुधको भूमिका औचित्यहीन देखिएकाले सरकारका मन्त्रीहरू निकम्मा सावित हुनेछन् ।

सीमा–सुरक्षाको सन्दर्भमा पनि मुलुकको सहभागिता कमजोर बन्नेछ । प्रतिपक्षीको इसारामा सरकार सञ्चलन हुनेछ । धर्मको बहस सतहमा आउनेछ । राजनीतिक द्वन्द्वलाई नियन्त्रण गर्न बल प्रयोग हुन सक्छ ।

विदेशी चलखेलविरुद्ध राज्यका शक्तिहरू एकजुट हुनेछन् । सुरक्षा एवं नीतिनिर्माणमा अधिकांश बजेट खर्च भए पनि नीतिगत अन्योल कायम रहनेछ । उद्योगमा लगानी बढ्नेछ भने ऊर्जा तथा सञ्चार क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ ।

श्रमिकवर्गको हकहितमा आवाज उठ्न सक्छ । २०७३ को साउन २२ गतेदेखि आयभावमा बृहस्पतिको स्थानान्तरणले दीर्घकालीन योजना बन्नुका साथै मुलुकको आयस्रोतमा अभिवृद्धि हुनेछ ।

समग्र प्रशासन तथा शैक्षिक क्षेत्रमा सुधार आउनेछ । असार वा भदौ महिनामा नेतृत्व हेरफेर हुने सम्भावना देखिन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा शस्त्र परीक्षणद्वारा शक्तिको होडबाजी चल्नेछ ।

शक्तिराष्ट्रहरूले कडा नीति अवलम्बन गर्न सक्छन् । भूकम्प, अधिक वर्षा र भूक्षयजस्ता प्राकृतिक प्रकोपले यो वर्ष पनि जनधनमा क्षति पुग्न सक्छ । जेठ, साउन, असोज, माघ र चैत महिनामा बढी दुर्घटना हुने सम्भावना छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर